हेटौंडामा गर्मीका कारण बन्द रहेको पठनपाठन आजबाट पुनः सुचारु

तु खबर संवाददाता
२०८० जेष्ठ ३०,मंगलवार १७:२६

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा अत्याधिक गर्मीका कारण केही दिनदेखि बन्द रहेको पठनपाठन आजबाट पुनः सुचारु भएको छ ।

बिगत केही दिनदेखि बन्द रहेको सामुदायिक तथा निजी विद्यालयहरुमा आजदेखि पुनः पठनपाठन सुचारु गरेको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।

प्रवक्ता न्यौपानेका अनुसार, विहान र दिउँसो गरी दुई चरणमा कक्षागत रुपमा पठनपाठन संचालन गर्ने सरोकारवालाहरुसँग भएको सहमति अनुसार, आजबाट पठनपाठन सुरु गरिएको हो ।

उपमहानगरपालिकाको १ देखि १९ नम्वर वडासम्म रहेका निजी तथा सामुदायिक सबै विद्यालयहरुमा कक्षा १ गते ५ सम्म बिहान र कक्षा ६ देखि १० सम्म दिउँसो कक्षा संचालन भएको प्रवक्ता न्यौपानेले बताए ।

उपमहानगरपालिकाको शिक्षा महाशाखाले गर्मीका कारण पठनपाठनमा प्रतिकूल असर परिरहेको र कतिपय बालबालिकाको स्वास्थ्यमा विभिन्न खाले समस्या देखिएपछि वर्षे विदाबाट कट्टी हुनेगरी सूचना जारी गरी विद्यालय बन्द गर्न भनिएको थियो ।

उपमहानगरपालिकाले पहिलो पटक जारी गरेको सूचना जेष्ठ २१ गतेदेखि लागू भई जेष्ठ २६ गते सकिएको थियो भने पछिल्लो पटक जारी गरेको सूचना जेष्ठ २८ गतेदेखि लागू भई २९ गते सकिएको थियो ।