बागमतीमा जनता आवास कार्यक्रम अन्तरगत ११४० घर निर्माण

तु खबर संवाददाता
२०८० जेष्ठ ३०,मंगलवार १८:१०
file-photo

मकवानपुर । बागमती प्रदेशमा जनता आजास कार्यक्रम अन्तरगत १ हजार १४० घर निर्माण भएको छ । प्रदेशमा चालु आर्थिक वर्ष २०७९/०८० मा काठमाडौं उपत्यका बाहेककका १० जिल्लामा उक्त घर निर्माण भएको हो ।

प्रदेश सरकारले उक्त कार्यक्रम आर्थिक वर्ष २०७६/७७ मा सुरु गरेको हो । सरकारले चितवनमा ७६६, मकवानपुरमा ६५०, धादिङमा ३५०, सिन्धुपाल्चोक, काभ्रे, दोलखा, सिन्धुली, रामेछाप, रसुवा र नुवाकोटमा ५०/५० घर निर्माण गर्ने योजनाअनुसार २०७९/०८० सम्म आइपुग्दा १ हजार १४० घर निर्माण सम्पन्न गरेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार संघबाट हस्तारण भएका ४ सय ६५ मध्ये २३० घर निर्माण सम्पन्न भएको छ । त्यसैगरी, प्रदेशबाट थप भएका १ हजार ८१३ घरमध्ये ९१० वटा निर्माण सम्पन्न भएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० मा सबै घर निर्माण सम्पन्न हुनुपर्ने भएपनि सबै जिल्लाबाट तथ्यांक नआएको भौतिक पूर्वाधार मन्त्रालयका सिनियर इन्जिनियर चन्द्रकाजी गुरुङले जानकारी दिए ।

उनले प्रदेशको मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुली र नुवाकोट गरी चार वटा जिल्लामा सव डिभिजन कार्यालयबाट जनता आवासका भवन निर्माणकार्य भइरहेको बताउँदै घर निर्माणको कार्य अन्तिम चरणमा पुगेको बताए ।