प्रचण्ड र बाबुराम लगायतको नाममा कारण देखाऊ आदेश
काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तथा नेता बाबुराम भट्टराई लगायतको नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
युद्धकालीन समयमा बाल सैनिकको प्रयोग गरेको सम्बन्धमा दायर भएको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो ।
जनयुद्धको समयमा बाल सैनिक प्रयोग गरिएकाले उच्च नेतृत्वलाई कारबाही हुनुपर्ने मागसहित पूर्व बाल सैनिक लेनिन विष्टले सर्वोच्चमा रिट दर्ता गराएका थिए । न्यायाधीश सपना प्रधान मल्लको इजलासले उक्त रिटमा विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गर्दै मुद्दालाई अग्राधिकार दिने आदेश गरेको हो ।
माओवादीका पूर्वलडाकु लेनिन विष्टले माओवादी जनयुद्धकालमा बाल सैन्यको रूपमा भर्ती गरी अयोग्य लडाकुको बिल्ला भिराई शिविरबाट निकालेर युद्ध अपराध गरेको जिकिर गर्दै सर्वोच्च अदालतमा आइतबार मुद्दा दायर गरेका हुन् ।
विष्टले सशस्त्र द्वन्द्वको समयमा आफूहरूलाई बाल सेना बनाएर प्रवेश गराएको र पछि बेवास्ता गरेको भन्दै मुद्दा दिएका थिए ।