मकवानपुरको समस्यालाई लिएर प्रधानमन्त्री प्रचण्डसँग भेट

तु खबर संवाददाता
२०८० जेष्ठ ३१,बुधबार ०८:२८

मकवानपुर । मकवानपुरको मनहरीमा राष्ट्रिय निकुन्ज र मध्यवर्ति क्षेत्रमा रहेका वासिन्दाहरुले वर्षाैदेखि भोग्नु परेको समस्या समाधानका लागि यहाँका स्थानीय र नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई   भेटेका छन् ।

मंगलबार मकवानपुर क्षेत्र नम्बर–२ का सांसद महेश कुमार बर्तौला, मकवानपुर क्षेत्र नम्बर–१ का सांसद दिपक बहादुर सिंहलगायत मनहरीका स्थानीय वासिन्दाहरु प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका हुन् ।

प्रधानमन्त्रीसँगको भेटमा उनीहरुले राष्ट्रिय निकुन्ज र मध्यबर्ति क्षेत्रमा परेका समस्यालाई समाधान गर्नेगरी कानून संशोधन गरेर काम गर्नुपर्ने भन्दै आफ्ना सुझावहरु राखेका थिए ।

यस्तै, भेटमा प्रधानमन्त्री प्रचण्डले यो समस्यालाई समाधान गर्ने तर्फ आफुले मन्त्रिपरिषद् बैठकमा कुरा राख्ने बताएका थिए ।

प्रधानमन्त्री र मन्त्रीहरुलाई भेट्नका लागि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मनहरी गाउँपालिकाका पूर्व अध्यक्ष एकाराज उप्रेति, पूर्व प्रदेश सांसद सन्त बहादुर चेपाङ, राजाराम स्याङतान लगायत पुगेका थिए ।

साथै उक्त टोलिले वन तथा वातावरण मन्त्री बिरेन्द्र महतो, भुमि सुधार मन्त्रि रन्जिता श्रेष्टलाई समेत भेटेको नेकपा एमाले मनहरीका अध्यक्ष नविन सुवेदीले बताए ।