बागमती प्रदेश : ६२ अर्ब ७० करोडको बजेट सार्वजनिक
मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्न बसेको बैठकमा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको लागि अनुमानित बजेट सार्वजनिक भएको छ ।
बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानित बजेट सार्वजनिक गरेका हुन् ।
मन्त्री लामाले प्रदेश सरकारको तर्फबाट आगामी आवको लागि कुल ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरे । जसमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख, पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार, कृषि उत्पादन, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन क्षेत्रको विकास, ‘एक घर, एक धारा’ प्रदेशको विभिन्न जिल्लाको विद्यालयमा प्लस टु गर्ने विद्यार्थीहरुलाई एक स्वास्थ्यकर्मीको व्यवस्थापन र प्रदेशमा विश्वविद्यालय स्थापना गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।