हेटौंडाबाट डेढ करोडको कपडासहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०८० असार ३,आईतवार १५:३३

मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोपाटे चेकपोष्टबाट शनिबार डेढ करोड मूल्य बराबरको कपडासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत पन्जाब प्रान्त लोदियाना ग्राम रसलपुर वडा नम्बर–७ बस्ने ३३ बर्षका रन्जौद सिंह र विहार प्रान्त मोजफरपुर माहामाद बस्ने २६ बर्षका सुधिर कुमार सहनी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, शनिबार सिराहाबाट हेटौंडातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बी आर ०६ जी ई ५०५३ नम्बरको ट्रकलाई हेटौंडा–१५, रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट चेकजाँच गरेको थियो ।

चेकजाँचको क्रममा चारैतिरबाट प्याजको १६८ वटा बोराहरुले छोपी बिच भागमा भारतबाट भन्सार छली ल्याएको एक करोड ५५ लाख ६९७ रुपयाँ मूल्य बराबरको ९० बोरा कपडा बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार, ट्रकमा रहेको पाईन्टको कपडा एक करोड २८ लाख ९६ हजार रुपैयाँ, सुटको कपडा ३ लाख रुपैयाँ, सर्टको कपडा १६ लाख ७६ हजार २५० रुपैयाँ, सेरवानी कुर्था एक लाख ३ हजार रुपैयाँ र कोरा कपडा ५ लाख २५ हजार ४४७ रुपैयाँ मुल्य रहेको छ ।

यस्तै, १६८ वटा बोरामा रहेको ८४ कुन्टल प्याजको मूल्य २ लाख ५२ हजार रुपैयाँ रहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

पक्राउ गरेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।