हेटौंडा–१२ मा निःशुल्क पशु स्वास्थ्य शिविर

तु खबर संवाददाता
२०८० असार ८,शुक्रबार १६:५२

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगपालिका वडा नम्वर १२, रमन्टारमा निःशुल्क पशु स्वास्थ्य शिविर भएको छ । हेटौंडा उपमहानगरपालिका अन्तरगत पशु सेवा केन्द्र बस्तीपुरको आयोजनामा पशु स्वास्थ्य शिविर भएको छ ।

रमन्टारको परिवर्तन टोल विकास संस्थाको भवनमा भएको शिविरमा २५० गाईभैंसीलाई नाम्ले, जुका, भिटामिन र मिनरल मिक्स्चर खुवाइएको पशु सेवा केन्द्र बस्तीपुरका प्रमुख डा. कमल अधिकारीले जानकारी दिए ।

त्यस्तै, २०० खसी, बोका र बाख्रालाई नाम्ले, जुका र किर्नाको औषधि खुवाइएको थियो भने २५ वटा बोकालाई खसी बनाइएको थियो ।

यसैगरी, लम्पी स्किन प्रभावित गाईलाई मल्हम र भिटामिन दिइएको पशु सेवा केन्द्र बस्तीपुरका प्रमुख डा.अधिकारीले बताए ।

कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामा, वडाका कार्यवाहक अध्यक्ष ज्ञानबहादुर श्रेष्ठ, वडा सदस्य महेश भट्टराई, नगरपालिकाकी कृषि तथा पशुपन्छी विकास शाखाकी प्रमुख गंगा चौलागाईं लगायतको उपस्थिति रहेको थियो ।