भीमफेदी गाउँपालिकाद्वारा ६८ करोड ५५ लाखको बजेट सार्वजनिक

तु खबर संवाददाता
२०८० असार ११,सोमबार ०८:४२

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०–०८१ को लागि ६८ करोड ५५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

पालिकाको १० औं गाउँसभामा पालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठले आगामी आर्थिक वर्षको लागि उक्त रकम बराबरको बजेट सार्वजनिक गरेका छन् ।

उपाध्यक्ष श्रेष्ठले पालिकाको तर्फबाट आगामी आवको लागि चालुतर्फ ३३ करोड २० लाख र पुँजीगततर्फ ३५ करोड २४ लाख ९९ हजार रुपैयाँ बजेट सार्वजनिक गरेका हुन् ।

पालिकाले पूर्वाधार विकासका लागि २४ करोड ८८ लाख रुपैयाँ, सामाजिक क्षेत्रमा २४ करोड ३९ लाख रुपैयाँ, आर्थिक विकासमा ६ करोड ८२ लाख, सुशासन तथा अन्तरसम्बन्धमा १ करोड ८० लाख तथा वन, वातावरण एवम् विपद् व्यवस्थापनका लागि १ करोड ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको उपाध्यक्ष श्रेष्ठले बताए ।

पालिकाले आगामी आर्थिक वर्षको बजेटको खर्च व्यहोर्ने स्रोतमा संघीय सरकारबाट प्राप्त अनुदान ३४ करोड ३२ लाख तथा प्रदेश सरकारबाट प्राप्त ६ करोड ६७ लाख रुपैयाँ अनुमान गरेको छ ।

यस्तै, राजस्व बाँडफाँडबाट १२ करोड ७७ लाख रुपैयाँ प्राप्त हुने अनुमान गाउँपालिकाको छ । आन्तरिक राजस्व ६ करोड ४४ लाख रुपैयाँ र अन्य आय ७ करोड रुपैयाँ हुने पालिकाले अनुमान गरेको छ ।