मकवानपुरको कुन स्थानीय तहले कति बजेट ल्यायो ?

तु खबर संवाददाता
२०८० असार ११,सोमबार १७:५३

मकवानपुर । मकवानपुरको ७ स्थानीय तहले आगामी आर्थिक वर्षको लागि बजेट ल्याएको छ । जिल्लाको १० स्थानीय तहमध्ये ७ पालिकाले आगामी आर्थिक वर्ष २०८०–०८१ को लागि बजेट ल्याएको हो ।

जिल्लाको बागमती गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेन । बागमतीले असार १५ गते भित्र बजेट ल्याउने बताइएको छ ।

यसैगरी, राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५७ करोड ८८ लाखको बजेट ल्याएको छ । पालिकाले पालिका क्षेत्रमा बसाइ सरेर आउने परिवारको लागि २ कोठाको घर निर्माण गरिदिने कार्यक्रमसहित बजेट ल्याएको हो । पालिकाले गाउँबाट सहर क्षेत्रमा बसाइँसराइ दर उच्च भएपछी गाउँपालिकाले घर उपहार कार्यक्रम ल्याएको पालिका उपाध्यक्ष बनस्थम थिङले जानकारी दिए ।

यता, मकवानपुरकै कैलाश गाउँपालिकाले ४८ करोड ५९ लाखको बजेट ल्याएको छ । गाउँपालिकाले सडक तथा झोलुङ्गे पुल निर्माण रकृषिलाई प्राथमिकतामा राखेको उपाध्यक्ष बालकुमार मल्लले बताए ।

यस्तै, जिल्लाको इन्द्रसरोवर गाउँपालिकाले ४४ करोड ३४ लाखको बजेट ल्याएको छ । इन्द्रसरोवरले कृषि र पर्यटन क्षेत्रलाई बजेटमा प्राथमिकता दिएको छ ।

यसैगरी, भीमफेदी गाउँपालिकाले ६८ करोड ५४ लाखको बजेट ल्याएको छ । पालिकाले रैथाने बालिलाई अनुदान दिने कार्यक्रमसहित भौतिक पुर्वाधार, पर्यटन र कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याएको उपाध्क्ष सञ्जीव श्रेष्ठले बताए ।

यता, मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले ६२ करोड २ लाख रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाले कृषि तथा पशुपालनलाई प्राथमिकतामा राख्दै किसान लक्षित कार्यक्रमहरुलाइ प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।

यस्तै, मकवानपुरको थाहा नगरपालिकाले ९८ करोड ८८ लाखको बजेट ल्याएको छ । थाहाले कृषि, पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सामाजिक विकास, सुशासन , उद्यमशिलता र रोजगारी, विपद् व्यवस्थापन र क्षमता विकासलाइ प्राथमिकतामा राखेको छ ।

यसैगरी, हेटौंडा उपमहानगरले २ अर्व ६० करोडको बजेट ल्याएको छ । हेटौंडाले भौतिक पुर्वाधारको कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ ।

जिल्लाको बकैया र मनहरी गाउँपालिकाले भने नीति तथा कार्यक्रम मात्र प्रस्तुत गरेको छ । बकैयाले मदिरा निषेधको कार्यक्रम अघि सारेको छ भने मनहरीले गुट्खाजन्य पदार्थ बिक्री वितरण निषेधको नीति अघि सारेको छ ।

मकवानपुरमा बजेट ल्याइसकेका पालिका र बजेट ल्याउँदै गरेका पालिकाहरुले भौतिक पूर्वाधार निर्माणमा सडक, नाली, पुल, खानेपानी, कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा बजेटमा समेटेका छन् ।