बागमती प्रदेश सभा : विनियोजित विधेयकमाथि उठेको प्रश्नको मन्त्रालयगत जवाफ दिने
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि बस्दैछ । बैठक प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा बिहान ११ बजे बस्ने भएको हो ।
उक्त बैठकमा आर्थिक वर्ष २०८०–०८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० को छलफलको क्रममा उठेको प्रश्नको मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
उक्त विनियोजित बजेटमाथि उठेको प्रश्नको मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयको तर्फबाट जवाफ दिनेछन् । यसअघि बुधबार बसेको प्रदेश सभाका ६ जना मन्त्रीले मन्त्रालयगत प्रश्नको जवाफ दिएका थिए ।
जसमा भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, वन तथा वातावरणमन्त्री मसिना खड्का, स्वास्थ्य मन्त्री उत्तम जोशी, पर्यटन उद्योग तथा सहकारी मन्त्री पुकार महर्जन, श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, कृषि तथा पशुपंक्षी विकासमन्त्री राजेन्द्रमान श्रेष्ठ रहेका छन् ।
यस्तै, आज खानेपानी, उर्जा तथा यातायातमन्त्री तिर्थबहादुर लामा, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ, आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा र मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उक्त विनियोजित विधेयकमाथि उठेको प्रश्नको जवाफ दिने प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
उक्त विनियोजित विधेयकमाथि गत असार १८ गतेदेखि छलफल सुरु भएको थियो ।