बाढी र पहिरोमा परेर २४ जनाको मृत्यु, २५ जना बेपत्ता
काठमाडौं । यस वर्ष मनसुन सुरु भएपछि बाढी र पहिरोमा परेर २४ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता भएका छन् ।
गृह मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य महाशाखाले दिएको जानकारीअनुसार मृत्यु हुनेमा महिलाभन्दा पुरुष बढी रहेका छन् । बाढी र पहिरोमा परेर मृत्यु हुने पुरुषको संख्या १५ र महिलाको संख्या ९ पुगेको छ ।
अहिलेसम्म बाढी र पहिरोबाट १८ जिल्ला प्रभावित भएका छन् । ती जिल्लामा गएको बाढी पहिरोमा परी १० जना घाइते भएका छन् भने ७४ वटा पक्की घर पूर्ण रूपमा ध्वस्त हुनुका साथै १ सय १८ घरमा आंशिक क्षति पुगेको पनि सो महाशाखाले जानकारी दिएको छ ।
पहिरोबाट १८ जिल्लाका ४ सय ५४ परिवार प्रभावित भएको शाखाले जानकारी दिएको छ । बाढीबाट ४ करोड ६६ लाख ३० हजार रुपियाँ बराबरको धनमाल नष्ट भएको अनुमान गरिएको छ ।
महाशाखाका अनुसार अहिलेसम्म विपद्जन्य घटनाबाट भोजपुर, नुवाकोट, संखुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम, तनहुँ, गोर्खा, ओखलढुंगा, सिन्धुली दैलेख, अछाम, जुम्ला, रूकुमपूर्व, सिन्धुपाल्चोक, कास्की, रूपन्देहीलगायतका जिल्ला प्रभावित भएका छन् ।
बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहे पनि उपलब्धि भने सकारात्मक नरहेको पनि महाशाखाले जनाएको छ ।