‘म सक्किएर हेटौंडा बन्छ भने पनि आइएम रेडी’

तु खबर संवाददाता
२०८० असार २३,शनिबार ०९:२२

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा बजार क्षेत्रमा पर्ने सडक विस्तार कार्य कुनै पनि बाहानामा रोक्न नहुने बताएकी छिन् ।

साँघुरो सडकका कारण ट्राफिक व्यवस्थापनको समस्या मात्रै नभई दिनहुँ सवारी दूर्घटनामा निर्दोष व्यक्तिहरुले ज्यान गुमाइरहेको भन्दै लामाले बजार क्षेत्रको सडकको दायाँबायाँ २५/२५ गज विस्तार गर्ने कार्यलाई अब कसैले पनि अवरोध पुर्याउन नहुने बताइन् ।

जिल्ला प्रशासन कार्यालयद्वारा आयोजित सर्वपक्षीय छलफलमा बोल्दै मेयर लामाले नगरसभाबाटै सडक विस्तार कार्यलाई सहयोग गरेर जाने निर्णय भएको बताइन् ।

सर्वोच्च अदालतले समेत सडक विस्तारको पक्षमा फैसला गरेको स्मरण गर्दै मेयर लामाले सर्वोच्चको आदेश अवहेलना गर्न नहुने बताइन् ।

‘सडक साँघुरो छ, दुर्घटना बढिरहेको छ । ट्राफिक व्यवस्थापनमा कठिनाइ भइरहेको छ । मेयर सुतेर बस्यो भन्छन्, उपमेयर चिसो खान गयो भन्छन्, फेसबुकमा लेख्छन् । हामीले गरेका हजारौँ राम्रा कामलाई यसैले छायाँमा पारिरहेको छ । सडक विस्तार गर्ने कार्यमा सर्वोच्च अदालतले पनि आदेश गरेको छ । भोलि सर्वोच्चको आदेश कार्यान्वयन नगर्दा सडक डिभिजनका प्रमुखलाई आदेशको अवहेलना गरेको भन्दै मुद्धा हाल्ने तयारी पनि भइरहेको छ भन्ने सुनेको छु ।’ उनले भनिन् ।

उनले अघि भनिन्, ‘बाइपासले हुन्छ भने किन अघि बढ्ने भनेर हामी बसेका थियौँ । हामी प्रधानमन्त्री, भौतिक पूर्वाधारमन्त्री र न्यायालयसम्म यसबारे बुझ्न गएकै हो । तर, नियमानुसार नै विस्तार हुन्छ भन्ने आएपछि अब हामी भ्रममा बस्नु मुर्खता हुन्छ । स्थानीय सरकार सडक विस्तार कार्यमा सहयोग गर्न तयार छ ।’

उनले सडक विस्तारमा सघाउने नगरसभाबाट निर्णय भएपर्छि धम्की आएको बताउँदै अब, आफु सक्किएरै भएपनि सडक विस्तारमा सघाउने बताइन् ।

‘ल कसैले बजार क्षेत्रबाट सडक विस्तार हुँदैन भनेर १५ गतेभित्र ल्याउँनुस् । म स्वागत गर्न तयार छु । तर, यो या त्यो भन्दै धम्की आइरहेको छ । अब सक्किए सक्किन्छु । हेटौंडा बजार बन्छ भने मिना लामा र राजेश बानियाँ सक्किन तयार छौँ । आइएम रेडि । तर, अब सडक विस्तार भएरै छाड्छ ।’ उनले भनिन् ।

उनले लामो समय कोरोना महामारी, अहिलेको आर्थिक मन्दीका कारण व्यवसायीहरु मर्कामा परिरहेको भन्दै व्यवसायीलाई पनि बजार व्यवस्थापनमा सहयोग गर्न उपमहानगर तयार रहेको बताइन् ।

केही समयअघि मात्रै तयारी व्यवसायीलाई व्यवस्थित गरेको बताउँदै मेयर लामाले सडक विस्तारका कारण प्रभावित हुने व्यवसायीलाई उपमहानगरले एउटा मापदण्ड बनाएर अझै व्यवस्थित बनाउने बताइन् ।

‘हामी व्यवसायीलाई मर्कामा पारेरै सडक विस्तार कार्य लाद्ने पक्षमा छैनौँ । म हेटौंडाको अभिभावक हुँ । स्थानीय सरकार र हाम्रो संविधान त्यती कमजोर छ ?, हामी व्यवस्थापन गर्न सक्दैनौँ ? अवश्य पनि सक्छौँ । गर्छौँ पनि, जसरी तरकारी बजार व्यवस्थापन गर्यौँ । हामी एउटा मापदण्ड बनाएर व्यवसायीलाई व्यवस्थित गर्छौँ । त्यो हाम्रो उत्तरदायित्व हो ।’ उनले भनिन् ।