बागमती प्रदेश : गत आवको तुलनामा बजेट खर्चमा सुधार
मकवानपुर । बागमती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७८/०७९ को तुलनामा चालु आर्थिक वर्ष २०७९/०८० को बजेट खर्चमा सुधार देखिएको छ ।
आर्थिक मन्दीका बिच पनि प्रदेश सरकारले गत आवको तुलनामा चालु आवमा २ प्रतिशत भन्दाबढी अर्थात ८ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय बागमती प्रदेश हेटौंडाले जनाएको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको ४७ अर्ब ६४ करोड ९८ लाख रुपैयाँ अर्थात ६७ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायले जानकारी दिए ।
उनका अनुसार, प्रदेश सरकारले चालु आवमा पुँजीगततर्फ ६७ प्रतिशत, चालुतर्फ ६९ प्रतिशत र वित्तीय व्यवस्थापनमा ३० प्रतिशत रकम खर्च गरेको हो । प्रदेश सरकारले चालु आवमा ७० अर्ब ९३ करोड २२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
यस्तै, प्रदेश सरकारले गत आव २०७८/०७९ मा ६५।६ प्रतिशत बजेट खर्च गरेको थियो । उक्त वर्षका लागि कुल विनियोजित ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार बजेटमध्ये ३७ अर्ब २९ करोड ४९ लाख ६३ हजार रुपैयाँ खर्च गरिएको थियो ।
असार २४ गतेबाट प्रदेश सरकारका सम्पूर्ण भुक्तानी रोकिएको र आम्दानी तथ्यांक संकलनको क्रम जारी रहेको प्रदेश लेखा नियन्त्रक उपाध्यायले बताए ।