मकवानपुरगढीको ७२ करोड ६५ लाख बजेट सर्वसम्मत पारित

तु खबर संवाददाता
२०८० असार २८,बिहीबार १०:०४

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याइएको अनुमानित बजेट सर्वसम्मत पारित भएको छ ।

गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रीनले बुधबार नवौं गाउँसभाको दोस्रो बैठकमा ७२ करोड ६५ लाख५६ हजारको बजेट प्रस्तुत गरेकी हुन् । गत असार १० गते वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुतको क्रममा ६२ करोड २ लाख ५६ हजारको अनुमानित बजेट प्रस्तुत गरेकी थिइन् ।

अहिले १० करोड बजेट बढेर ल्याइएको छ । उनले सभामा विषयगत शाखा सहितका विभिन्न शीर्षकको बजेट प्रस्तुत गरेकी थिइन् । गाउँपालिका स्तरीय चालु खर्चको कार्यक्रमलाई ८ करोड ८९ लाख ८८ हजारको बजेट पेश गरेकी थिइन् । जसमा कर्मचारी पारिश्रमिक सहितका विभिन्न कार्यक्रम तथा योजनाहरु रहेका छन् ।

उनले पालिकाबाट हुने वडागत विभिन्न भौतिक पूर्वाधारहरुमा समेत बजेट छुट्टाएर प्रस्तुत गरेकी छिन् । गाउँपालिकाबाट हुने लक्षित वर्गको कार्यक्रम अन्तरगत दलित लक्षितमा १० लाख, जनजाति लक्षितमा १० लाख, अपाङ्ग लक्षित कार्यक्रमलाई ८ लाख, महिला लक्षितमा ९ लाख, बालबालिकामा १० लाख युवा लक्षित कार्यक्रममा ६ लाख, कार्यपालिका सदस्य लक्षित कार्यक्रमलाई १५ लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, गाउँपालिकामा रहेका विभिन्न विषयगत शाखाहरुलाई पनि बजेट विनियोजन गरिएको छ । महिला तथा बालबालिका शाखालाई १० लाख, स्वास्थ्य शाखालाई ८० लाख, कृषि विकास शाखालाई ६० लाख, पशु शाखालाई ८० लाख, शिक्षा शाखालाई २ करोड, खेलकुदलाई, २५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँपालिकाले कार्यक्रम/परियोजना अनुसार नेपाल सरकारको शर्सत र विशेष अनुदानहरुको पनि बजेट प्रस्तुत गरिएको थियो ।