नेपालमा साउन १ गतेदेखि सःशुल्क विदेशी च्यानल बन्द हुने

तु खबर संवाददाता
२०८० असार ३०,शनिबार ०९:१७

काठमाडौं । सरकारले आगामी साउन १ गते अर्थात् सोमबारदेखि सबै सःशुल्क विदेशी च्यानल बन्द गर्ने भएको छ । सूचना तथा प्रशारण विभागले एक विज्ञप्ति जारी गर्दै सो बारे जानकारी गराएको हो ।

विभागका प्रवक्ता सुदीप भट्टराईले जारी गरेको सूचनामा ‘अला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागे बमोजिम बुकेहरु (च्यानलहरुको प्याकेजहरु) प्राप्त नभएको भन्दै यस्तो अवस्था सिर्जना भएको उल्लेख गरिएको छ ।

भारतीय सःशुल्क (पे) टीभी च्यानल प्रसारक संस्थाहरुले नेपालको ‘अला कार्ट’ प्रणाली लागू गर्न सहयोग नगर्ने बताएपछि विभागले सम्बद्ध सबैलाई सरकारी निर्णयलाई दृढतापूर्वक सहयोग गर्न अपील गरेको छ ।

भारतीय च्यानहरुको छाता संगठन इण्डियन ब्रोडकास्टिङ एण्ड डिजिटल फाउन्डेसनले सूचना तथा प्रसारण विभागलाई पत्राचार गर्दै च्यानलहरुको बुके बनाएर मूल्य तोक्ने र प्रत्येक च्यानलको छुट्टाछुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने जानकारी गराएको र यसको प्रतिक्रिया स्वरुप सरकारले विदेशी च्यानलको प्रसारण रोकिने अवस्था आएको जारी विज्ञप्तिमा भनिएको छ ।

सरकारले असार २८ गतेसम्म विदेशबाट पैसा तिरेर खरिद गरिने विदेशी च्यानलहरुले बुके र यस्तो बुकेमा रहने प्रत्यके च्यानलको छुट्टाछुट्टै मूल्य बुझाउनुपर्ने नियम बनाएपनि कोही पनि तयार नभएका हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले १५ चैत्र, २०७९ मा टेलिभिजन (टिभी) सेवामा ‘अला कार्ट’ मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको थियो । राष्ट्रिय प्रसारण नियमावली, २०५२ बमोजिम नेपालमा टेलिभिजन च्यानलहरुको सिग्नल वितरण गर्ने इजाजतपत्र प्राप्त संस्थाहरु (जस्तैः केबल, एमएओ, डीटीएच, आईपीटीभी, एमएमडीएस, डीटीटीबी) ले उपभोक्ताबाट लिन पाउने शुल्कलाई पारदर्शी, व्यवस्थित तथा वैज्ञानिक बनाउन भन्दै उक्त प्रणाली लागू भएको हो ।

हेर्नुहोस् विज्ञप्ति ।