बागमती गाउँपालिकाद्वारा ६ जना सुकुम्वासीलाई लालपुर्जा वितरण
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाले ६ जना भूमिहिन सुकुम्बासीलाई जग्गा धनी पुर्जा वितरण गरेको छ । शुक्रबार सम्पन्न पालिकाको दशौं गाउँसभामा बागमती गाउँपालिका वडा नम्वर ३ का ६ जना भूमिहिन सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको हो ।
लालपुर्जा प्राप्त गर्नेहरुमा क्रमशः वीरबहादुर भोलन, मंगलबहादुर बिक, बुद्धिमान मोक्तान, मंगलीमाया स्याङतान, तेजबहादुर मोक्तान र बलबहादुर भोलन रहेका छन् । उनीहरुलाई गाउँपालिका अध्यक्ष सर्केश घलानले लालपुर्जा वितरण गरेका थिए । विकलाई २४० हेक्टर, तेज बहादुरलाई १ हजार २६४ हेक्टर, विरबहादुरलाई २ हजार हेक्टर, मंगलीमायालाई २ हजार हेक्टर, बुद्धिमानलाई २ हजार हेक्टर र बलबहादुरलाई २ हजार हेक्टर जग्गा वितरण गरिएको बागमती गाउँपालिका–३ का अध्यक्ष कमानसिं पाख्रिनले जानकारी दिए ।
त्यस्तै, गाउँसभामा सरकारी कार्यालय प्रयोजनका लागि जग्गा दान गर्ने २३ दातालाई सम्मान गरिएको छ । कार्यालय प्रयोजनका लागि जग्गा दान गर्नुहुनेमा तुलासा थोकर , डुब्वाङ पाख्रिन् , मानकाजी जिम्बा, आइतेसिं पाख्रिन् , बिजय जिम्बा , कार्शाङ पाख्रिन् , सुवास घिसिङ ,तिलकबहादुर माझी लगायत २३ दातालाई पालिकाले सम्मान गरिएको हो ।
उनीहरुले पालिकाका वडा भवन र सरकारी संरचना निर्माणका लागि तीन कठ्ठासम्म जग्गा थिए । ती जग्गामा वडा कार्यालय, स्वास्थ्य कार्यालय, स्वास्थ्य खोप केन्द्र निर्माण गरिएको पालिकाले जनाएको छ ।