भीमफेदीलाई समृद्ध बनाउँछौँः अध्यक्ष लामा

तु खबर संवाददाता
२०८० श्रावण २,मंगलवार १०:२६

मकवानपुरको मध्ये भागमा अवस्थित भीमफेदी गाउँपालिका २४५.२७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । साविकका भैंसे, निबुवाटार, भीमफेदी, कोगटे, इपापञ्चकन्या गरी ५ वटा गाविस र नामटार गाविसको १, ३ र ४ नम्वर वडा मिलाएर भीमफेदी गाउँपालिका बनाइएको हो ।

भीमफेदी पूर्वतर्फ ललितपूर जिल्लाको सिमाना हो । पश्चिममा मकवानपुरकै कैलाश, हेटौंडा, उत्तरतर्फ थाहा र इन्द्रसरोवर, दक्षिणतर्फ हेटौंडा, मकवानपुरगढी र बकैयासँग जोडिएको भीमफेदी मकवानपुरको पुरानो सदरमुकाम समेत हो ।

ऐतिहासिक एवम् पुरातात्विक महत्वको यो क्षेत्र उतिबेलाको काठमाडौँ उपत्यकासँग जोड्ने प्रमुख प्रशासनिक एवम् व्यापारिक नाकाको रुपमासमेत परिचित छ । भीमफेदी राणाकालिन इतिहाससँग जोडिएको छ । तामाङ, मगर क्षेत्रीब्राम्हण लगायत विभिन्न जातजाति बसोबास गर्ने यो क्षेत्रमा विभिन्न कला, भाषा, धर्म र संस्कृति भेट्न सकिन्छ ।

प्रकृतिको अनुपम सौन्दर्यले भरिपूर्ण भीमफेदीमा पर्यटनको प्रचुर संभावना छ । यहाँ कच्चा पदार्थ र जलको भण्डार नै छ । हजारौँ सम्भावना बोकेको यो क्षेत्र तुलनात्मक रुपमा विकासका दृष्टिकोणले भने ओझेलमा पर्दै आएको थियो ।

संघीयतापश्चात स्थानीय तहको पहिलो निर्वाचनबाट ‘खानी पानी र जवानी’ को समुचित प्रयोग गर्ने बाचा गरेर चुनाव जितेका हिदम लामालाई दोस्रो निर्वाचनमा पनि जनताले रोजे । उनै लामासँग तु खबरले भीमफेदीको ताजा अवस्था, समस्या तथा समाधानका लागि भइरहेका कामहरु लगायत विभिन्न विषयमा आधारित रहेर कुराकानी गरेको छ । प्रस्तुत छ, लामासँग गरिएको कुराकानीको सम्पादित अंश ।

दोस्रो पटक जनताको विश्वास पाउनुभएको छ । यो अवधिमा भीमफेदी गाउँपालिकाबासीको हितका सन्दर्भमा विशेषगरी के–कस्ता काम गर्नुभयो ?

धन्यवाद । पक्कै पनि मेरो इमान्दारिता र क्रियाशीलता देखेर नेकपा एमालेले मलाई दोस्रो पटक टिकट दियो । आदरणीय भीमफेदीबासीहरुले विश्वाससहित अमूल्य मत दिनुभयो । त्यसका लागि म सदैव ऋणी र भीमफेदीबासीको हितका लागि काम गर्ने सवालमा प्रतिवद्ध रहेको विश्वास दिलाउन चाहान्छु ।

मुलुक अझै पनि संघीयता कार्यान्वयनकै चरणमा छ । जनप्रतिनिधिले सोचेजस्तै काम गर्न सक्ने परिपाटी निर्माण भइसकेको छैन । जनताको असिमित आवश्यकताको सम्बोधन गर्नुपर्ने जिम्मेवारी काँधमा छ । सोही जिम्मेवारी पूरा गर्न हामीसँग भएको सिमित स्रोतलाई जनताको बीचमा परिचालन गरी काम गरिरहेका छौँ ।

मुलत भौतिक पूर्वाधारको क्षेत्रमा काम गरेका छौँ । मकवानपुरको पुरानो सदरमुकाम भएतापनि झण्डै ६ साविकका गाविक जोडेर बनेको गाउँपालिका भौगोलिक रुपमा विकट छ । त्यो हाम्रो चुनोती पनि हो । छरिएर रहेका बस्तीहरुमा जनताको पहिलो आवश्यकता सडक नै हो । हामीले सडक बस्तीस्तरसम्म पुर्यायौँ ।

१२ महिनासम्म संचालन हुने दीगो बाटोहरु बनाउन पूर्वाधारको क्षेत्रमा काम भइनैरहेको छ । सामाजिक विकासतर्फ शिक्षा र स्वास्थ्यको क्षेत्रमा र सामाजिक उत्तरदायित्व, सामाजिक सुरक्षाका कार्यक्रमहरुलाई हामीले काम गर्ने वातावरण बनाइरहेका छौँ । विद्यालयमा बस व्यवस्थापनदेखि विद्यार्थीलाई नियमित विद्यालय आउने वातावरण बनाउने, विद्यालय छाड्ने दर घटाउने लगायत काम भइरहेको छ । १ घण्टा भित्रमा नागरिकले आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्नुपर्छ भन्ने मान्यताका साथ प्रत्येक वडामा स्वास्थ्य इकाइ स्थापना गर्यौँ । खोप केन्द्रलाई अझै व्यवस्थित गरिरहेका छौँ । कृषि क्षेत्रलाई प्रवद्र्धन गरी रोजगारी सिर्जना गर्ने काम भएका छन् ।

ठूला भौतिक पूर्वाधारको काम पनि सम्पन्न गरेका छौँ । मकवानपुरको कतिपय पालिकाहरु भाडामा बसिरहेका छन् । तर, हामीले सुविधा सम्पन्न प्रशासकीय भवन बनायौँ । १५ बेडको हस्पिटल निर्माणाधीन अवस्थामा छ । गाउँपालिकाको गौरवको योजनाको रुपमा हामीले ऐतिहासिक चिसापानी गढीलाई पुनः निर्माण र त्यहाँको भौतिक पूर्वाधारलाई संरक्षण र प्रवद्र्धन गर्ने काम अघि बढाइरहेका छौँ । भीमफेदी आफैँमा सामरिक महत्व राख्ने पुरानो ऐतिहासिक सहर भएको र यहाँ धेरै पुरातात्विक चिज पनि भएको कारणले हामीले पुरातात्विक सम्पदालाई पुरानै अवस्थमा स्थापना गरी भावी सन्ततीले देख्न, अनुभूति गर्न पाउन भन्ने उद्धेश्यका साथ त्यसलाई पुनः निर्माण गर्ने कामको थालनी गरेका छौँ ।

पर्यटकीय गन्तव्यको पहिचान भएको छ । यसको प्रवद्र्धनका लागि विज्ञहरुसँग परामर्श लिइरहेका छौँ । पर्यटन संरचनाको विकास गर्ने कार्यमा हामी तल्लिन छौँ । पर्यटनसँग रोजगारी जोड्नको लागि होम स्टे संचालन गर्ने अवधारणा अघि सारेका छौँ ।

यहाँकै जनताको बीचमा रहेर यही भूगोलबाट राजनीति गर्नुभयो । एक कार्यकाल भीमफेदीको नेतृत्व पनि गरिसक्नुभयो । तपाईको दृष्टिकोणमा जनताको मुख्य अपेक्षा र समस्या के हो ?, त्यसलाई समाधान गर्न पालिकाले के गरिरहेको छ ?

यसमा दुईवटा पाटा छन् । प्रशासनिक पाटोतर्फ छिटो छरितो गुणस्तरीय सेवा प्राप्त गर्ने हुन्छ । मैले स्वीकार्नुपर्छ हामीले जुन गतिमा छिटो छरितो सेवा प्रवाह गर्नुपर्ने हो र सुशासनको पाटोमा त्यसतर्फ जति गर्नुपर्ने हो, त्यति सकिरहेका छैनौँ । यसको मतलव नियत राखेर हामीले त्यसलाई नगरेको भन्दा पनि मानव संशाधनको अभाव, व्यवस्थापकीय कुराको कमजोरीले अपेक्षाकृत काम गर्न सकेका छैनौँ । अर्को कुरा जनताको आवश्यकता भनेको लगभग सडक, खानेपानी, विद्यालय, स्वास्थ्य चौकी, विजुलीबत्ती लगायत विषय नै हुन् । मैले माथि पनि उल्लेख गरिरकेको छु गाउँपालिकाले गरेका धेरै कामहरु ।

यसका अलवा कृषि उपजलाई प्रवद्र्धन गरी आर्थिक विकासमा गाउँपालिकाले सहयोग गरोस् भन्ने जनताको चाहाना देखिन्छ । हामी उहाँहरुको चाहाना अनुसार नै अघि बढिरहेका छौँ ।

भीमफेदीमा सरदर ७० प्रतिशत मात्रै साक्षर छन् । सामुदायिक विद्यालयको नतिजा सन्तोषजनक छैन । त्यसलाई सुधार्न के गरिरहनुभएको छ ?

पक्कै पनि सामुदायिक विद्यालयको र नीजि विद्यालयको शिक्षाको गुणस्तरमा निकै ठूलो खाडल देखिन्छ । सामुदायिक विद्यालय हुँदा खाने वर्गका विद्यार्थीहरु पठ्ने ठाउँ हो । हुने खानेहरु सहर बजारका वा गाउँमै भएका नीजि विद्यालयमा पढाउन सक्छन् । जसका कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नको लागि हामीले विभिन्न गतिविधि संचालन गरिरहेका छौँ । पालिकाले मात्रै सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न सक्दैन ।

अगुवाई त हामीले नै गर्ने हो । तर, सामुदायिक विद्यालयको शैक्षिक सुधारको नीति अभिभावक र अभिभावकले विद्यार्थीलाई दिनुपर्ने सहजिकरण गर्नुपर्ने व्यवहार पनि हो । हामी समानुपातिक शिक्षाको लागि शिक्षकलाई योग्य बनाउन विभिन्न खालको तालिम, परामर्श गराइरहेका छौँ । नीजिमा जस्तै शिक्षकलाई बढी मिहेनत गराउने र जिम्मेवार भएर नतिजामुखी बनाउनको लागि विद्यालय व्यवस्थापन समितिहरुसँग सहजिकरण गर्न पालिकास्वयम जिम्मेवार भएर अघि बढिरहेको छ ।

युवाहरु रोजगारीको खोजीमा विदेशिइरहेका छन् । गाउँपालिकामा रोजगारीका लागि कृषिबाहेक अन्य राम्रो संभावनाको क्षेत्र देखिँदैन । युवा रोजगारसँग जोडेर कृषिलाई कसरी प्रवद्र्धन गर्न सकिएला ?

अहिले मुलुकनै संक्रमणमा छ । देशको अर्थतन्त्र नै संकटमा छ । कृषि क्षेत्रको बजेट संघीय सरकारले काटिरहेको छ । नेपालको इतिहासमा सरकारले प्रक्षेपण गरेको भन्दा कम राजश्व उठिरहेको छ । त्यसकारण बजेट केही कटेको छ । विगतमा हामीले वास्तवमा युवाहरुको कृषि क्षेत्रबाट नै आर्थिक अवस्था माथि उठाउने योजना अनुसार विभिन्न खालका कृषिसँग सम्बन्धित काम गरेका थियौँ ।  किसानले आफ्नो बारी बाँझो राख्ने प्रचलन छ । त्यसलाई रोक्नको लागि विभिन्न अनुदान दिने बाँझो जमिनलाई खेतियोग्य बनाउने कार्यक्रम ल्याएका थियौँ । कृषिसँगै जोडेर पशुपालनको लागि पनि काम गर्यौँ । भैसी र बाख्रा पकेट क्षेत्रलगायत केही न केही कार्यक्रममार्फत् उहाँहरुलाई समेटेका छौँ ।

त्यस्तै आयमुलक काममा नजोडिएका दिदिबहिनीहरुलाई पालिकाको लगानीमा लघुवित्त प्रोजेक्टमार्फत् विभिन्न लोकल सामग्रीलाई मार्केटसँग कसरी जोडन सकिन्छ भनेर काम गरिरहेका छौँ । दिदीबहिनीहरुले धुप बनाइरहनु्भएको छ । शिस्नुको पाउडर प्याकिङ गरिरहनुभएको छ । दूधको भ्यालुएट कसरी गर्न सकिन्छ भनेर दिदिबहिनीहरुलदाई जोड्ने समूहहरु निर्माण गर्ने लगायतका काम गरी ग्रामिण अर्थतन्त्रको विकास गरिरहेका छौँ ।

केन्द्र र प्रदेश सरकारले भीमफदीको लागि समावेश गरेका योजनाप्रति सन्तुष्ट हुने अवस्था छ कि छैन ?

संघबाट सन्तुष्ट हुनेगरी योजनाहरु परेको छ । तर, प्रदेशको हकमा कतिपय योजना चाँही अत्यन्तै अव्यवहारिक र प्राविधिक अध्ययन नगरी टुक्रे योजना आउँदा समस्या भएको छ । संघले धेरै ठाउँमा ५÷१० लाख हालेर काम गरेको छ । कोषको सहि परिचालन भएको छैन ।

प्राथमिकताको आधारमा जानुपर्नेमा अनावश्यक ढंगले टुक्रे योजना आएको छ । हामीलाई गाउँमा बजेट आएको त राम्रै हो । तर, त्यसको वातावरणीय प्रभाव कत्तिको पर्छ, प्राविधिक पाटोबाट त्यो उपयुक्त छ कि छैन ती सबै कुरामा ध्यान दिनुपर्छ । राजनीतिक अभिष्ट प्राप्त गर्नको लागि सरकारमा हुँदा जुनसुकै पार्टीले यस्तो काम गरेपनि त्यसलाई रोक्नुपर्छ भन्ने मेरो मत हो ।

कतिपय ठाउँमा एउटै शीर्षकमा पालिका र प्रदेशको बजेट दाहोरिएको छ । त्यसले कार्यान्वयमा जटिलता आउँछ । तर, जवाफदेही भने सुरुमा गाउँपालिका नै हुनुपर्ने भएकाले प्रदेशले योजना तल पठाउँदा पालिकाले स्वीकृत गरेको योजना हेरेर पठायो भने स्रोतको सही परिचालन हुन्छ । प्रदेशको योजना ऐन कानून र कार्यविधिमा लागू भएपनि व्यवहारमा लागू भएको छैन । त्यसले समस्या भइरहेको छ ।

ग्रामिण विद्युतीकरणतर्फ के– कति काम भए ?

भीमफेदी गाउँपालिकामा कुलेखानीको ३ वटा हाइड्रो प्रोजेक्ट छ । हाम्रो गाउँपालिकाको वडा नम्वर ६,४ र १ मा कुलेखानीको पावरहाउस छ । यहाँको विजुलीले देशैभरी उज्यालो भयो होला । तर, हाम्रो गाउँको कतिपय ठाउँहरु टुकि बालेर बस्नुपर्ने अवस्था थियो । ५ वर्षको अवधिमा पालिकाको ६÷७ घरमाबाहेक विजुली विस्तार गरेका छौँ । त्यो चाँही अत्यन्तै विकट, बरु सोलार हालिदियो भने सोलारबाट बत्ती प्राप्त सहज हुने तर विद्युत विस्तार गर्दा २० औँ लाख खर्च हुने देखिएकोले हो । त्यसबाहेक ९९.९९ प्रतिशत विद्युतीकरणको काम भइसकेको छ ।

विगतमा विद्युतीकरण भएको ठाउँमा स–साना काठका पोलहरु थिए । ती पोलहरु बर्षामा कुहिने, चैत बैशाखको हावाहुरीले भाँचिने जोखिम थियो । वार्षिक रुपमा ३ जना भन्दा बढी भीमफेदी गाउँपालिका भित्र काठको पोल भाँचिएर मृत्यु हुने अवस्था थियो । अहिले काठको पोलमुक्त गाउँपालिका बनाउने उद्देश्यका साथ हामी लागेका छौँ । हामीले धेरै वडालाई काठको पोलमुक्त वडा बनाइसकेका छौँ । हाम्रो गाउँपालिकामा अझै ५ सय वटा जति पोल परिवर्तन गर्न आवश्यक छ ।

भीमफेदी विशेषगरी तामाङ, मगरलगायतका विभिन्न जनजातिको बाहुल्यता रहेको क्षेत्र हो । त्यहाँ अनेकन कला, भाषा, संस्कृति छन् । यसको प्रवद्र्धन गर्दै भीमफेदीको सांस्कृतिक वैभवलाई कसरी अघि बढाउनुहुन्छ ?

पक्कै पनि धेरै राम्रो विषय उठाउनुभयो । एउटा विद्यालयबाट नमूना संकलन गरेर जाने भन्ने उद्देश्यका साथ एकदिन सबै जातजातिका बालबालिकाले आ–आफ्नो पहिचान झल्कने पोशाक लगाउनुपर्छ भनेर हामीले भनेका थियौँ । तर, त्यो प्रभावकारी हुन सकेको थिएन । अहिले हामी के गरिरहेका छौँ भने, विस्तारै हामीले भीमफेदीको कला, साहित्य, संस्कृति जोगाउनको लागि उहाँहरुको आवश्यकता, उहाँहरुको माग अनुसार पालिकाको सहभागिता जनाउँदै आएका छौँ । मेला, जात्रा र महोत्सवहरुमा पालिकाको सहभागिता हुने गरेको छ ।

भीमफेदी मकवानपुरको पुरानो सदरमुकाम पनि हो । राणाकालिन समयको अत्यत्तै महत्व भएको ठाउँ, कुुनै बेला यही बाटो हुँदै गाडि बोकेर उपत्यका पुर्याइन्थ्यो । चिसापानी नाका हुँदै उपत्यका प्रवेश गरिन्थ्यो । पर्यटनसँगै भीमफेदीको पुनर्जागरणको लागि गाउँपालिकाले के गरिरहेको छ ?

२०४० सालमा भीमफेदीस्थित सदरमुकाम हेटौँडा सारिएको थियो । हामी के भन्न चाहान्छौँ भने, ५ वर्ष अघिको भीमफेदी र अहिलेको भीमफेदी हेर्दा बस्ती विस्तारको हिसाबले, व्यावसायिक प्रवद्र्धनको हिसाबले, गाउँपालिकाको सेन्टर भएको हिसाबले घरहरुको संख्या बढेकोबढ्यै छ । ४० सालपछि भीमफेदी एउटा खण्डहरको रुपमा परिणत भएको थियो भने, अहिले त्यो व्यापारिक केन्द्रको रुपमा मात्रै नभई प्रशासनिक केन्द्र पनि बनेको छ । द्वन्द्ध पछि एउटा पनि बैंक थिएन । अहिले ५ वटा बैक छन् । जसका कारण यहाँको ग्रामिण अर्थतन्त्र निर्माण भइरहेको छ । कृषि, पशुपालन र अन्य व्यवसायमा बैँकको लगानी छ । त्यहाँका जनता बैँक खोज्दै हेटौंडा आउनुपर्दैन । त्यसकारणले त्यहाँ अलिकति ग्रामिण अर्थतन्त्र निर्माणको लागि पुँजिको परिचालन भएको अवस्था छ । त्यसले एउटा निरश भीमफेदी रसिलो बन्दै गएको छ ।

त्यस्तै पुरातात्विक हिसाबले भीमफेदी ऐतिहासिक ठाउँ हो । चन्द्र समशेरको पालामा मोटर बोकेर गएको पाइन्छ । हामीले तीनवटा चिज हात्तीसार विगतमा राजा महाराजाहरुले सिकार खेल्न आउनुुहन्थ्यो । भीमफेदीमा बसेर मात्रै जानुहुन्थ्यो । उहाँहरुले शिकार खेल्दा हात्तीमाथि राख्ने हौदादेखि जंगबहादुरले प्रयोग गरेको हौदा यहाँ सुरक्षित छ । महारानी एलिजाबेदले १९६१ मा आउँदा राजा महेन्द्र र राजा चाल्र्स संगै चितवनमा सिकार खेल्न गएका रहेछन् । त्यहाँ शिकार खेल्न प्रयोग भएका सबैकुरा त्यहाँ बन्यजन्तुलाई छेक्न प्रयोग भएका कपडा होस्, अन्य सामग्री होस् जंगबहादुर र महारानी एलिजावेदले प्रयोग गरेको हौदा सुरक्षित छन् । त्यो हाम्रो सम्पती हो । त्यसलाई व्यवस्थित बनाउने र त्यसलाई मिनी म्यूजिएमको रुपमा विकास गर्नेतर्फ प्रदेश सरकारसँग समन्वय गरी काम गरिरहेका छौँ ।

विगतमा खण्डहर भएको चिज त्यसलाई संरक्षण गर्ने जग्गाको संरक्षण गर्ने, गाउँपालिकामा नै जग्गाको भोगाधिकार ल्याउने पहल गरेका थियौँ । संघीय सरकारले दिएर प्रदेश सरकार मातहत डिभिजन वन कार्यालय मकवानपुरलाई हस्तान्तरण भएको अवस्था छ । त्यो हात्तिसार, चिसापानीगढी र चन्द्र समशेरको पालामा मोटर बोक्ने प्रयोग भएको बाटो हामी त्यसलाई संरक्षण गरी भोलीका सन्ततीले अनुभूति गर्न सक्ने गरी पुनः निर्माण गरिरहेका छौँ । भीमफेदीका कतिपय व्यक्तिका घरदेखि सरकारी कार्यालयहरु सय वर्ष पूरा भइसकेका छन् । ती घरहरुलाई पनि हामीले पुनः निर्माण गर्ने अवधारणा अनुसार विज्ञसँग छलफल गरिरहेका छौँ ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?

हामीलाई सकारात्मक र सचनात्मक सुझाव दिनुहोस् । हामी जनताकै सेवाका लागि लागिरहेका छौँ । जानीजानी गलत काम गर्दैनौँ । कमि कमजोरी छ भने सरकारात्मक हिसाबले पालिका वा वडामै आएर जनप्रतिनिधिलाई कर्मचारीलाई सुझाव दिनुहुन अनुरोध गर्दछु । गल्ती कमजोरी भइरहेको छ भने तत्कालै भन्नुहोस् ।

हामीकहाँ राम्रै काम गर्न खोज्दा पनि कहिलेकाँकी मानवीय त्रुटी भएको पाइयो भने सामाजिक सञ्जालबाट त्यसलाई ट्रोल बनाएर निरुत्साहित गराउन खोज्ने चलन छ । यसले समाजलाई विगार्छ, त्यतातर्फ जानुहुँदैन । समाज सुधार्न यही प्रणालीमा बसेर प्रयास गर्ने हो । यही व्यवस्थाभित्र रहेर हामीले काम गर्ने हो । त्यस कारणले आदरणीय भीमफेदी बासीलाई पनि म त्यही आग्रह गर्छु । तपाईहरुको मतको सम्मान गर्दै सदैव तपाईहरुकै हितका लागि काम गर्ने प्रतिवद्धता दोहोर्याउन चाहान्छु । तु खबरलाई पनि धन्यवाद दिन चाहान्छु ।