बागमती प्रदेश सरकारद्वारा जनता माविलाई बस हस्तान्तरण
मकवानपुर । बागमती प्रदेश सरकारले मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ८ स्थित जनता माध्यमिक विद्यालयलाई बस हस्तान्तरण गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा विद्यालयलाई बस हस्तान्तरण गरिएको हो ।
बुधबार एक कार्यक्रमबीच बागमती प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) ले विद्यालयलाई बस हस्तान्तरण गरेका हुन् । सो क्रममा प्रदेश सभा सदस्य पुलामीले प्रदेश सरकारको सहयोगले सयौं बालबालिकाहरुलाई अध्ययनका लागि आउजाउ गर्नका निम्ति सहज भएको बताए ।
सांसद पुलामीले उक्त विद्यालयलाई प्रदेश सरकारले बस हस्तान्तरण गरेसँगै गाउँपालिकाको ६ र ७ नम्वर वडा लगायतका टाँढाबाट विद्यालयमा अध्ययन गर्न आउने दर्जनौं विद्यार्थीहरुको समस्या हट्ने दाबी गरे । उनले बसको सही सदुपयोग गर्न विद्यालयलाई आग्रह समेत गरे ।
यस्तै, सो क्रममा प्रदेश सरकारको सहयोगले विद्यालयतर्फ आकर्षण बढाउन प्रेरित गरेको विद्यालयका प्रधानध्यापक यादवराज बरालले बताए । उनका अनुसार, सो विद्यालयमा ९ सय ५० जना विद्यार्थी अध्यनरत छन् ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष फनिन्द्र कुमार तिमल्सिना, वडा नम्वर ८ का अध्यक्ष ईन्द्रमणी तिमल्सिना, वडा ४ का अध्यक्ष किरण माझी, वडा नम्वर ६ का अध्यक्ष टेकबहादुर डिम्डुङ् लगायतको सहभागिता रहेको थियो ।