हेटौंडा उपमहानगरले रातारात हटायो सडक किनाराका रुख–विरुवा
मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा बजार क्षेत्रमा पर्ने सडक विस्तारका लागि हेटौंडा उपमहानगरपालिकाले सडक किनाराको रुख–विरुवा हटाएको छ ।
उपमहानगरपालिकाले बुधबार राति हेटौंडा १ र १० नम्वर वडा अन्तरगत पर्ने सडकको दायाँ–बायाँ सडकपेटीमा राखिएका रुख–विरुवाहरु हटाएको हो ।
सडक विस्तारका गर्ने सन्दर्भमा सूचना प्रकाशित भइसकेकोले विस्तार कार्यलाई सहजता प्रदान गर्न र सार्वजनिक सम्पतीको क्षति नहोस् भन्नका लागि रुख–विरुवा हटाइएको उपमहानगरपालिकाले जनाएको छ ।
सडक डिभिजन कार्यालय हेटौँडाले असार १० गते ३५ दिने सूचना प्रकाशित गरी पूर्वपश्चिम राजमार्गको दायाँबायाँ २५ गजभित्र पर्ने सम्पूर्ण घरटहरा तथा अन्य संरचना हटाउन आग्रह गरेको छ । २५ गज क्षेत्रमा पर्ने भएपछि राप्तिरोडको सडकपेटीबाट विरुवा हटाइएको हो ।
उपमहानगरले यसअघि नगर परिषद् बैठकबाटै सडक विस्तारका लागि प्रकाशित सूचनाको स्वागत गर्दै सडक फराकिलो पार्ने कार्यमा सहजिकरण र समन्वय गर्ने निर्णय गरेको थियो ।