‘कांग्रेसलाई बागमतीमा पहिलो पार्टी बनाउन सफल भयौँ’

तु खबर संवाददाता
२०८० श्रावण ८,सोमबार १८:०१

२०४४ सालमा राजनीतिमा प्रवेश गरेका इन्द्रबहादुर बानियाँ त्यसयता निरन्तर सक्रिय छन् । नेविसंघ मकवानपुर सहसचिव, तरुण दल मकवानपुर सचिव हुँदै अध्यक्ष, कांग्रेस मकवानपुरको जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यलगायत तहमा रहेर काम गरेका उनी २०७३ सालमा नेपाली कांग्रेस मकवानपुरको सभापति भएका थिए । २०७८ मङ्सिरमा सम्पन्न नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत प्रदेश अधिवेशनबाट प्रदेश सभापति निर्वाचित भएका थिए । उनी २०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्वर–१ बाट निर्वाचित भएका थिए ।

संघीय सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री र गृहराज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका उनी २०७४ सालको निर्वाचनमा मकवानपुर क्षेत्र नम्वर २ (ख) मा निर्वाचित भएर प्रदेश सभा सदस्य भए । उनी नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता समेत भए । जनताको विश्वास जित्दै अघि बढेका बानियाँले २०७९ को निर्वाचनमा पुनः जित हासिल गरे ।

पाँच दशकदेखि ‘लाल किल्ला’ को रुपमा चिनिने गरेको मकवानपुरमा त्यसलाई तोडेर कांग्रेसलाई स्थापित गर्न बानियाँको योगदान रहेको छ । मकवानपुरमा अहिलेको कांग्रेसको संगठन विस्तारको श्रेय बानियाँलाई जान्छ । विकासप्रेमी नेताको छवि बनाएका बानियाँ बागमती प्रदेश सभापतिमा निर्वाचित भएसँगै प्रदेशभर पार्टी अभियानलाई तीव्रता दिइरहेका छन् । प्रदेशभर सामाजिक हितका कामसँगै विकास अभियानमार्फत् कांग्रेसजन र जनतामा उर्जा थप्न उनी विभिन्न जिल्लाका कार्यक्रममा व्यस्त छन् । उनै बानियाँसँग तु खबरले गरेको कुराकानी ।

नेपाली कांग्रेस बागमती प्रदेश समितिको गतिविधि के भइरहेको छ ?

नेपाली कांग्रेस बागमती प्रदेश समितिले केही समय अघिसम्म स्थानीय तहको निर्वाचन, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा आफुलाई केन्द्रित गरायो । म नेतृत्वमा आइसकेपछि मैले आफ्नो सम्पूर्ण कार्यसमितिलाई प्रदेशभरी सांगठनिक गतिविधिमा निरन्तर सक्रिय गराएको छु ।

केन्द्रीय निर्देशन अनुसार होस् वा प्रदेशले नै तय गरेर पार्टीको गतिविधिलाई तल्लो तहसम्म पुर्याउने काम भएको छ । जसको परिणाम स्वरुप हामीले स्थानीय र संसदीय निर्वाचनमा सुखद नतिजा हात पार्न सफल भयौं । मेरो अठोट बागमती प्रदेशमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने थियो, त्यसमा हामी सफल भएका छौं । अब हामी पुनः नयाँ अभियानका साथ जनतामाझ पार्टी गतिविधिलाई पुर्याउने क्रममा छौं ।

हामीले नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको हितमा खटिनका लागि निरन्तर सुझाव दिइरहेका छौं । सम्बन्धित क्षेत्रमा रहेका जनप्रतिनिधि र पार्टीका सम्बन्धित तहबीच समन्वयमा जोड दिएका छौं । जसले गर्दा जनताको काम प्रभावकारी बन्न सहयोग पुग्नेछ । प्रदेश समितिले पनि विभिन्न स्थानीय तह र निर्वाचन क्षेत्रका जनतालाई परेका समस्याहरुमा सहयोग गर्ने काम गरिरहेको छ । पार्टीका हरेक तहलाई क्रियाशिल बनाउने काम भएको छ । जसले गर्दा पार्टीमा नयाँ उर्जाको सञ्चार भएको महसुस भएको छ ।

निर्वाचनमा भएका कमजोरीबारे पनि समिक्षा भयो होला नि ?

निर्वाचनमा भएका सम्पूर्ण गतिविधिबारे प्रदेश समितिले समिक्षा गरेको छ । सम्बन्धित जिल्ला समितिहरुमार्फत् समिक्षा गर्ने काम भएको छ । निर्वाचनमा क्रममा भएका कमजोरी वा सबल पक्षबारे गहन ढंगले छलफल भएको छ । सुझावहरु पनि प्राप्त भएका छन् । ती सुझाव अनुसार आगामी दिनका रणनीति बनाउने छौँ ।

निर्वाचनका सन्दर्भमा भएका अन्तरघातको बारेमा पनि सत्य तथ्य पहिचान गरी निर्वाचनमा गलत गर्नेलाई कारवाही र राम्रो गर्नेलाई प्रोत्साह गर्ने कुरामा पार्टी कहिल्यै पछि पर्दैन । यसो भन्दैमा बागमती प्रदेश समिति अनावश्यक आरोप र आपेक्षका आधारमा निष्कर्षमा पुग्दैन । निर्वाचनका बारेमा निरन्तर समिक्षा गर्दै सम्बन्धित जिल्लामा सुधारको लागि काम गर्नेछौं । यसले आगामी निर्वाचनलाई थप परिणाममुखी बनाउन मद्धत गर्छ भन्नेमा हामी विश्वस्त छौं । निर्वाचनका क्रममा भएको तिख्ततालाई मेट्दै नेपाली कांग्रेस तल्लो तहसम्म पुगेर संगठनलाई मजबुद बनाउने काममा लाग्नेछ । अब कार्यकर्ता र जनतामाझ पार्टीलाई पु¥याउन रणनीतिक ढंगले अघि बढ्नेछौं ।

बागमती प्रदेशमा पनि कांग्रेस सरकारमा छ, सरकारको कामलाई कसरी हेर्नुभएको छ ?

पछिल्लो समय बागमती प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ । प्रदेश सरकारको शुरुवाती चरण अलग गठबन्धनमा रह्यो भने पछिल्लो चरणमा अहिले कांग्रेससंगको गठबन्धनमा छ । सरकारको समिकरण फेरबदल भइरहँदा कामको गतिमा केही कमी आएको सबैले महसुस गरेका छन् । प्रदेश सरकारबारे सिर्जना गरिएका भ्रमलाई चिर्नका लागि सरकारले काम गर्नु जरुरी छ । यसका लागि जनताले भोगिरहेका समस्याको समाधान, दिर्घकालिन पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकतामा राखेर काम गर्नुपर्दछ ।

कृषि क्षेत्रको प्रवद्र्धनका लागि ठोस योजना अघि ल्याउनुपर्छ जसले गर्दा देशमा उत्पादकत्व बृद्धि हुन्छ । अहिले देखिएको आर्थिक मन्दीको मारमा रहेका उद्योगी व्यवसायीलाई लक्षित गर्दै राहतका प्याकेज अघि सार्नुपर्छ भन्ने हाम्रो सुझाव छ । यसतर्फ प्रदेश सरकार अघि बढ्नुपर्छ, हामी यसमा लाग्नेछौं ।

प्रदेश समिति र प्रदेश संसदीय दलबीचको समन्वय कसरी भइरहेको छ ?

बागमती प्रदेश समिति र प्रदेश संसदीय दलबीच समन्वय र सहकार्य अत्यन्त महत्वपूर्ण छ । दुइबीचको सहकार्यबाट प्रदेशका जनताको समस्या समाधान गर्न सकिन्छ । पार्टीका प्रदेशभित्रका जिल्ला कार्यसमितिमार्फत् प्रदेश समितिमा जिल्लागत समस्याहरुको बारेमा जानकारी प्राप्त भइरहेको हुन्छ । ती विषयहरुलाई प्रदेश संसदीय दलको समन्वयमा समाधान गर्ने काम गर्नुपर्दछ ।

विकासका मुद्धाहरु लिएर प्रदेश समितिसम्म नेता कार्यकर्ता र सर्वसाधारण आइपुग्ने गर्नुहुन्छ । उहाँहरुको समस्या समाधान गर्नु हाम्रो दायित्व रहन्छ, त्यसका लागि प्रदेश सरकारसम्म पुग्नुपर्ने हुन्छ भने कतिपय विषयहरु संसदमा उठाउनुपर्ने हुन्छ । यस्तो अवस्थामा प्रदेश समितिको समन्वय संसदीय दलले यी विषयमा संसद र सरकारसम्म पुग्ने कामको सहजिकरण गर्दछ । म संसदीय दलको नेता भएको अवस्थामा मैले सबै जिल्ला कार्यसमितिले अवगत गराएका समस्यालाई सम्बोधन गर्न प्रयत्न गरेको सबैलाई अवगत नै छ ।

हामी पार्टी र संसदीय दलबीच सूचना अदानप्रदान गर्ने, समस्यालाई सदन र सरकारसम्म पुर्याउने र समाधानको काम गरिरहेका छौं । पार्टीको केन्द्रीय कार्यसमितिले दिएका निर्देशनहरुको परिपालन गर्ने/गराउने दायित्व प्रदेश समिति र संसदीय दलको भएकाले हामी समन्वयात्मक ढंगले अघि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो ।

दोस्रो पटक त्यही निर्वाचन क्षेत्रबाट विजयी भएर आउनुभएको छ, मतदाताको अपेक्षा कसरी पुरा गरिरहनुभएको छ ?

हो, मलाई मकवानपुर क्षेत्र नम्बर २ (२) का मतदाताले दोस्रो पटक विजयी गराउनुभएको छ । म निर्वाचित भएदेखि नै आफ्नो निर्वाचन क्षेत्रसंग निरन्तर जोडिएको छु । त्यहाँका हरेक समस्या समाधानमा मेरो अग्रसरता रहेको छ । विकासका योजना अघि बढाउनेदेखि विपदमा परेका नागरिकलाई सहयोग गर्ने काम निरन्तर भइरहेको छ । कतिपय विषयहरुमा नीतिगत निर्णय गराउनुपर्ने हुन्छ त्यसमा पनि मेरो पहल जारी रहेको छ । मतदाताले मलाई निर्वाचन अघि झैं निरन्तर निर्वाचन क्षेत्रमा खटिएको पाउनु भएको छ । म निरन्तर जनताको सेवामा समर्पित हुने भएकाले नै मतदाताहरुले मलाई निरन्तर अनुमोदन गर्दै आउनु भएको छ । यसलाई म सधैं ध्यानमा राखेर काम गर्ने गर्दछु ।

निर्वाचन क्षेत्रका कार्यक्रमहरुमा निरन्तर पुग्ने गरेको छु । सुखदुखमा सहयोग गरिरहेको छु, यसलाई निरन्तर अघि बढाउने छु । मत माग्दा एउटा कुरा र जितेपछि फरक कुरा गर्ने मेरो बानी छैन, विगतमा गरेका बाचा पुरा गर्ने काममा जुटेको छु । विगतमा गरेका प्रतिवद्धता अनुसार कतिपय विकासका काम भइरहेका छन्, कतिपयको टेन्डर अघि बढेको छ भने कतिपय आगामी दिनमा अघि बढ्नेछन् । म सधैं जनताको सुखदुखमा संगै रहने पुनः प्रतिवद्धता व्यक्त गर्दछु ।

राजनीतिक नेतृत्व, व्यवसाय र सामाजिक गतिविधिलाई कसरी अघि बढाइरहनुभएको छ ?

म बागमती प्रदेश सभापति भएकाले प्रदेशका सबै क्षेत्रमा मैले आफ्नो ध्यानलाई केन्द्रित गर्नुपर्ने हुन्छ । नेतृत्वको सक्रियताले नै प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति र मातहतका कार्यसमितिहरु क्रियाशिल हुने हुन् । त्यसैले म प्रदेश समितिमार्फत ठोस योजनाका साथ प्रदेशका तल्लो तहसम्म निरन्तर गतिविधि संचालन गरी पार्टीलाई चलायनमान बनाउनेतर्फ काम गर्नेछु । यसका साथै आफ्नो निर्वाचन क्षेत्रसंग निरन्तर जोडिनका लागि पनि योजनाहरु बनाउनेछु ।

मैले मेरो राजनीतिक जीवनलाई सामाजिक गतिविधि गर्नका लागि अघि बढाएको हो, त्यसैले सामाजिक गतिविधि पनि निरन्तर भइरहन्छ । समस्यामा परेकाहरुको समस्या समाधान गर्न प्रयत्नशिल रहँदै आएको छु यसलाई निरन्तर अघि बढाउनेछु । व्यक्तिगत जीवन चलाउन गरिएको व्यवसाय मैले मेरो टिमलाई जिम्मा लगाएको छुु । मैले त्यसतर्फ धेरै समय दिनुपर्दैन । मैले सल्लाह सुझाव दिने मात्रै हो, यसलाई कार्यान्वयन गर्ने टिम तयार गरिदिएको छु । त्यसैले मैले मेरो ध्यान व्यापार व्यवसायमा भन्दा पनि बढि पार्टीको जिम्मेवारी र सामाजिक हितका काममा नै बढि लगाउने छु ।

अन्त्यमा, शुभेच्छुकहरुलाई यहाँको केही भनाई छ कि ?

विगतमा यहाँहरुकै साथ र सहयोगले म यहाँसम्म आइपुगेको हुँ । सबैको साथ र सहयोग बिना एक्लैको प्रयासले सफलता हासिल गर्न सकिंदैन भन्नेमा म स्पष्ट छु । यहाँहरुको सल्लाह र सुझाव अनुसार नै म अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु । हामीले स्थानीय तह र संसदीय निर्वाचनमा प्राप्त गरेका सफलताहरुलाई आगामी निर्वाचनमा थप विस्तार गर्नका जनतामाझ निरन्तर पुगेर समस्या समाधानका लागि जुट्नु जरुरी छ । त्यसतर्फ हामी सबै अघि बढौं ।