हेटौँडामा पछिल्लो पाइला

सञ्जय साह मित्र
२०८० श्रावण १०,बुधबार ११:४५

सम्बन्ध भैरव अर्याल स्मृति सम्मानसित रहेको छ ।
म एक दिन भैरव अर्याल स्मृति सम्मान पाउन योग्य हुन्छु भन्ने मलाई लागेको थियो तर अहिले नै म पाइहाल्छु भन्ने मलाई अलिकति मनको कुनै कुनामा थिएन ।

एक दिन म रेडियोमा समाचार सम्पादन गरिरहेको थिएँ साँझतिर । सोही समयमा अनिता न्यौपानेले विनम्रतापूर्वक अभिभादन गर्दै निर्णय भइसकेको भनेर नै खबर गर्नुभयो । एकैछिनमा समाचारमा आउँछ भन्ने कुरो सुन्दा खुसीले मन नफ्रिने कुरै भएन । साथमा थिए समाचारवाचक तथा कलाकार भाइ कुमार चन्दन । उनलाई तत्काल नै सुनाएँ । समाचारको प्राविधिक देवेन्द्र चौधरीजीलाई पनि तत्काल खबर नसुनाउने कुरै भएन ।

समाचारवाचक तथा प्राविधिक दुवै जना भाइहरु हुन् । भाषा र साहित्यको काममा दुवै जना लागिरहन्छन् । कुमार चन्दनका केही रचनाहरु प्रकाशित पनि छन् र गायन तथा नृत्यका साथै अभिनयका अन्य क्षेत्रमा राम्रो सम्भावना भएका प्रतिभा हुन् । प्रोत्साहन गर्ने संस्था पाउने हो भने कुमार चन्दनले निकै राम्रो गर्न सक्छन् भन्नेमा मलाई शंका छैन तर स्नातक गरिसकेपछि उमेरले पनि पारिवारिक जिम्मेवारी खोज्दोरहेछ । कुमार चन्दनको प्रतिभा यस्तै जिम्मेवारी बोधको बोझमा दबिएर हराउने हो कि भन्ने चिसो आशंका पनि रहेको छ ।
अँ, म स्नातक पढ्न हेटौँडा गएको थिएँ र त्यहाँ एक युगसम्म मैले साहित्यिक कर्म गरेर बसेको थिएँ । त्यस युगमा एक युवकले गर्नुपर्ने वा गर्न सक्नेभन्दा धेरै नै मैले त्यहाँ गर्न पुगेको थिएँ । युवावयको जोश मैले साहित्यिक गतिविधिमा नै खर्चेको हुँ हेटौँडामा । अहिलेसम्म हेटौँडाले सम्झिइरहेको छ । मेरो लागि यो सन्तोषको पक्ष भने अवश्य नै हो ।

हेटौँडामा हुँदा सामान्य व्यङ्ग्य लेख्थेँ । २०५० को दशकलाई अखबारको उत्कर्ष अर्थात् स्वर्णकाल पनि भन्न सकिन्छ । अखबारहरु निकै फस्टाएका थिए । अखबारले निकै राम्रो गरेको थियो । मैले पनि हेटौँडामा बसेर अखबारमा लेख्ने काम गरेको हुँ । हेटौँडामा बस्दा मैले हप्तामा दुईओटासम्म व्यङ्ग्य दुई अखबारलाई दिन्थेँ । हिमालय टाइम्स दैनिक र स्पेसटाइम दैनिकमा हप्ताका दुई हास्यव्यङ्ग्य रचना प्रकाशित हुन्थे । यो अनिवार्य नै थिएन तर पनि हिमालय टाइम्समा भने अनिवार्य जस्तै थियो । स्पेसटाइम दैनिकमा भने हप्तामा एउटा लेख्थें, अधिकांश व्यङ्ग्य नै हुन्थ्यो तर साहित्य र समाजका विविध पक्षसित सम्बन्धित लेखहरु पनि लेख्थें । भन्न खोजिएको के भने हेटौँडामा बसेर त्यत्ति वेला काठमाडौँबाट प्रकाशित हुने केही दैनिक पत्रिका तथा केही साहित्यिक पत्रपत्रिकाहरुमा हास्यव्यङ्ग्य रचना प्रकाशित गराइरहन्थेँ ।

हेटौँडाभन्दा बाहिर मात्र होइन, हेटौँडाका अखबार तथा साहित्यिक पत्रपत्रिकाहरुमा पनि विभिन्न विधाका साथै हास्यव्यङ्ग्य रचना लेखिरहन्थेँ । हेटौँडामा व्यङ्ग्यकार नै त होइन तर एउटा साहित्यकारको रुपमा भने विस्तारै परिचित भइसकेको थिएँ ।
आदरणीय देवप्रसाद श्रेष्ठले कुराकानी साप्ताहिकको जिम्मा दिनुभएपछि म आफ्नै मनले पहिले कार्यकारी सम्पादक र अनि त्यसपछि सम्पादक पद लेख्न लगाएर पत्रिकालाई राम्रोसित चलाएँ । पत्रिकामा जानुअघि नै देवसरसित प्रस्ताव राखेको थिएँ – एक पृष्ठ साहित्यलाई मात्र दिन्छु । सहृदय सहर्ष स्वीकार गरेपछि मैले सम्हालेको केही हप्तासम्म अनौपचारिक रुपमा साहित्य र यससित सम्बन्धित खबरहरु प्राथमिकतामा राखेर दिन थालें । केही महिनापछि मकवानपुरका साहित्यकारहरुले कुराकानी साप्ताहिक एकचोटि हेर्न थाले । पुष्पलाल पुस्तकालयमा स्थानीय पत्रिकाहरुमध्ये कुराकानी साप्ताहिक खोज्नेहरु धेरै हुन्थे । म आफैँ पनि पुष्पलाल पुस्तकालयको एक नियमित पाठक थिएँ । विभिन्न पत्रपत्रिका पढ्न पुग्थें । मुख्य गरी साहित्यिक रुचि भएका तथा साहित्य लेख्ने वा साहित्य पढ्नेहरुको नजरमा कुराकानी साप्ताहिक पुग्न थालेपछि हो – साहित्य शृङ्खला सुरुआत गरेको ।

कुराकानी साप्ताहिकमा सम्भवतः साढे दुई सय हो कि तीन सय जति अंक साहित्य शृङ्खला प्रकाशित भएको थियो । मकवानुरका मुख्य गरी हेटौँडाका सयौँ सर्जकको पहिलो रचना साहित्य शृङ्खलामा प्रकाशित भएको थियो । मकवानपुरमा प्रतिभा उत्पादनमा यसको ठूलो भूमिका रहेको आज पनि धेरैले स्वीकार गर्दछन् । यसमा हास्यव्यङ्ग्यलाई पनि स्थान र प्राथमिकता दिइन्थ्यो । विशेषाङ्क पनि निकालेको हो ।

अहिले हास्यव्यङ्ग्यको लागि हेटौँडामा निकै सार्थक प्रयासहरु भइरहेका छन् । हाम्रो जमानामा अहिलेको जस्तो खासै वातावरण थिएन तर हास्यव्यङ्ग्यको वातावरण बनाउनमा मैले पनि अलिकति भूमिका खेलेको हुँ । हामी पाँच जना मिलेर पञ्चराम सम्पादक रही रामबाण हास्यव्यङ्ग्य साहित्यिक द्वैमासिक पत्रिकाको प्रकाशन सुरु गरेका थियौँ । दुई वर्षभन्दा लामो समयसम्म यसले अत्यन्तै ऊर्जावान् भएर काम गरेको थियो । ऊर्जावान् भएर यसकारण कि नियमित पत्रिका प्रकाशन गर्ने, वार्षिकोत्सव मनाउने तथा हास्यव्यङ्ग्यकारलाई सम्मानित गर्ने । हास्यव्यङ्ग्य गोष्ठी पनि गरेको थियो । एउटा त यस्तो कार्यक्रम गरेको थियो जुन तोकिएको समयमै सुरु गरी तोकिएकै समयमा समापन गरेको थियो । कतिपय प्रतिष्ठित अतिथिहरु आउँदा आउँदै कार्यक्रम सकिइसकेको थियो । रामबाणले पछिल्लो चरणमा लेखकहरुलाई पारिश्रमिक दिन पनि सुरु गरेको थियो । जीवनवृत्तिको क्रममा म हेटौँडाबाट रौतहट आउनु परेपछि सबैको चाहना हुँदाहुँदै पनि रामबाण सेलाएर गएकोमा हामी पञ्चरामलाई अहिलेसम्म पछुतो रहेको छ ।

विभिन्न नामबाट बेलामौकामा हास्यव्यङ्ग्य लेख्ने काम गरिरहेकै थिएँ । अद्यपर्यन्त जारी नै छ । यसै बिचमा बारामा दर्ता भई काठमाडौँबाट प्रकाशनरत नवप्रज्ञापन साहित्यिक त्रैमासिकमा एउटा हास्यव्यङ्ग्य प्रकाशित भयो मेरो । सम्पादक–प्रकाशक नवराज रिजाल निकै प्रभावित भएर प्रशंसा गरे । आजभोलि यत्तिकै रचना पढेर प्रशंसा गर्नेहरु कमै भेटिन्छन् । त्यसैबाट फुरुङ्ग भएको थिएँ । प्रोत्साहित भएको थिएँ, पुरस्कृत भएको अनुभूति गरेको थिएँ ।

पछिल्लो समयमा हेटौँडाकै आकृति क्रिएसनले मेरो ‘व्यङ्ग्यम्’ साहित्यिक कृति निकाल्यो । कृतिले अपेक्षित चर्चा पायो पनि । र, कृतिको प्रकाशनपछि हास्यव्यङ्ग्य क्षेत्रका चर्चित अनुहारहरुसित अझ परिचित हुने मौका जु¥यो । हेटौँडाका हास्यव्यङ्ग्यकारहरुसित पुनः परिचित हुने मौका पनि यस कृतिले जुराइदियो । यद्यपि विभिन्न प्राविधिक कारणले यस कृतिको औपचारिक लोकार्पण वा विमोचन हुन सकेन तर जहाँ जहाँ र जसजसको हातमा पुग्नुपर्ने थियो, पुगेको सन्देशहरु आए ।
कृतिको प्रकाशनपछि हो – हास्यव्यङ्ग्य साहित्यिक अनलाइन फित्कौलीडटकममा नियमित जस्तै रचनाहरु आइरहेका छन् । यसलाई पनि उपलब्धि नै मान्नु उचित हुन्छ मेरो लागि ।

गत बैसाख ८ गते हेटौँडामा साहित्य उत्सवको क्रममा एउटा सत्रमा पुरस्कार वितरण कार्यक्रम पनि थियो । सङ्गमले चयन गरेका पुरस्कृत हुने प्रतिभाहरुको लाइनमा बस्दा नै एउटा जिम्मेवारीको अनुभूति भएको थियो । प्रमुख अतिथि, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति  भूपाल राईको हातबाट पुरस्कृत तथा सम्मानित भएँ ।

कतिपयलाई यही लाग्यो, एउटा ‘व्यङ्ग्यम्’ कृति निकालेर नेपालका सर्वोच्च हास्यव्यङ्ग्यकार भैरव अर्यालको नाममा स्थापित, परिवारजनकै सहयोगमा स्थापित पुरस्कार प्राप्त गर्ने सौभाग्य पायो । कार्यक्रममा बोल्न पाएको भए सायद म खुसीभन्दा बढी द्रविभूत हुन्थें र अलिकति विगत सुनाउँथें । ‘व्यङ्ग्यम्’लाई मात्र देख्नेहरुले मेरो मकवानपुरे योगदान नबुझेको हुनुपर्छ ।

भैरव अर्याल स्मृति सम्मान यसभन्दा पहिले देशमा सुपरिचित विशिष्ट व्यङ्ग्यकारहरुले प्राप्त गरिसकेका छन् । उहाँहरुको सामु उभिने हैसियत नहोला तर मैले यो पुरस्कार पाउँदा धेरै मकवानपुरे सर्जकहरुले खुसी प्रकट गरेका थिए । मैले पाएको पुरस्कारमा र पाउँदा खुसी हुने सर्जकहरुमा मैले अझ के अनुभूति गरेको छु भने मैले हास्यव्यङ्ग्य साहित्यमा अझै लामो यात्रा गर्न बाँकी रहेको छ ।