सर्वोच्चको फैसलाले सडक विस्तार रोकिँदैन, १६ गतेबाट डोजर चलाउँछौँः प्रमुख यादव

तु खबर संवाददाता
२०८० श्रावण ११,बिहीबार ०९:५६

मकवानपुर । सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख राजेश यादवले सडक विस्तार कार्य अगाडि बढ्ने बताएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा बजार क्षेत्रमा सडक विस्तारका लागि आवश्यक तयारी अगाडि बढिसकेको भन्दै सूचनामा तोकिएको अवधि सकिएसँगै विस्तार कार्यलाई तीव्रताका साथ अगाडि बढाइने उनले बताए ।

हेटौंडा बजार क्षेत्रको ३४१ घरधनीहरुले २०७३ मा नै दायर गरेको मुद्धाको फैसला भइसकेकाले सोहीअनुसार सडक विस्तार कार्य अघि बढ्ने उनको भनाई छ । सर्वोच्च अदालतको हालको अल्पकालीन आन्तरिम आदेशले नागरिकमा भ्रम सिर्जना भएको भन्दै उनले भ्रममा नपर्न आग्रह गरे ।

सर्वोच्चको आदेशले विस्तार कार्य प्रभावित नहुने यादवले बताए । ‘साउन १६ मा सडक विस्तार कार्यको सुरुवात हुन्छ, तत्कालका लागि अदालतको आदेश अनुसार २५ गज सडक सिमा विस्तार गर्छौँ र सोही अनुसार सडक सीमामा रहेका घरटहरा हटाउँछौँ ।’ उनले भने ।

सडक सीमा २५ मिटर कायम भएकाले उक्त सीमासम्म कायम गर्न आवश्यक ७ फिट जग्गा अधिग्रहणको प्रक्रिया पुरा गरिने समेत उनले बताए ।

‘सर्वोच्च अदालतको आन्तरिम आदेशले हेटौंडा बजारको विस्तार रोकिँदैन । अल्पकालीन आदेश लिएका व्यक्तिको हकमा अदातलले छलफलका लागि जवाफ माग गरेको छ । १६ गते पेशी तोकिएको छ । सोहीअनुसार हामी छलफलमा सहभागी हुन्छौ । छलफल चल्दै गर्छ, सडक विस्तार हुँदै गर्छ ।’ उनले भने ।

सडक विस्तारमा अल्पकालीन आदेश प्राप्त भएको घरहरुको हकमा सो घरको फैसला कुर्ने र अन्य घरहरुको हकमा कानून र अदालतको आदेशअनुसार अघि बढ्ने यादवले बताए ।

सडक विस्तारको क्रममा कार्यालयले न्यूनतम ६ र अधिकतम आवश्यकताका आधारमा ६० वटा सम्म डोजर प्रयोग गरिने जनाएको छ ।