जिसस मकवानपुरमा छलफलः सडक विस्तारका लागि सबैले सहयोग गर्ने प्रतिवद्धता

तु खबर संवाददाता
२०८० श्रावण ११,बिहीबार १०:४०

मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा बजार क्षेत्रको सडक विस्तार कार्यका लागि सरोकारवाला निकायहरुहरुबीच बुधबार छलफल भएको छ ।

छलफलमा सहभागी विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरुले सडक विस्तार कार्य अघि बढाउन आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

जिल्ला समन्वय समिति मकवानपुरमा भएको छलफलमा सडक डिभिजन कार्यालय, हेटौंडा उपमहानगरपालिका तथा वडा कार्यालयहरु, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड, जिल्ला प्रशासन कार्यालय र मातहतका सुरक्षा निकायहरु, सरकारी स्वामित्वका बैंक तथा कार्यालय र संस्थानहरु सहभागी थिए ।

छलफलमा सडक विस्तारका लागि हेटौंडा उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख तथा जनप्रतिनिधिहरुले समन्वयात्मक भूमिका निर्वाह गर्ने, विद्युत प्राधिकरणले विद्युत आपूर्ति तथा सामग्रीको व्यवस्थापन गर्ने, सडक क्षेत्रमा रहेका सरकारी बैंक तथा संस्थानहरुले उचित व्यवस्थापन गर्ने र नेपाल टेलिकमले फोन तथा इन्टरनेटका तारको व्यवस्थापन गर्ने निर्णय भएको हो ।

हेभी इक्युप्मेन्ट डिभिजन कार्यालयले सडक विस्तारका लागि आवश्यक डोजर तथा जेसिवी, लोडर र टिप्पर लगायतका सवारी साधनको व्यवस्थापन गर्ने सहमति भएको छ । जिल्ला प्रशासन र मातहतका सुरक्षा निकायले विस्तार कार्यका लागि आवश्यक सुरक्षाको प्रबन्ध मिलाउने समेत निर्णय भएको छ ।

डिभिजन सडक कार्यालय हेटौंडाले साउन १६ गतेबाट विस्तार कार्य सुरु गरिने र त्यसका लागि आवश्यक तयारी अगाडि बढाइसकिएको जनाएको छ ।