सडक विस्तारको काम रोक्न नहुने भन्दै ७३ वर्षीय वृद्ध अनशनमा

तु खबर संवाददाता
२०८० श्रावण ११,बिहीबार १५:४७

मकवानपुर । पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने हेटौंडा बजार क्षेत्रमा सडक विस्तारको काम रोक्न नहुने भन्दै ७३ वर्षीय वृद्ध अनशनमा बसेका छन् । ती वृद्ध सडक डिभिजन कार्यालय हेटौंडाको गेटमा अनशन बसेका हुन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ निवासी मानबहादुर तामाङ सडक विस्तारको काम रोक्न नहुने भन्दै गत साउन १ गतेबाट अनशन बसेका हुन् ।

उनीसँगै उनका ३४ वर्षीय छोरा राजिव तामाङ पनि अनशन बसिरहेका छन् । सडक विस्तारले समग्र देशकै विकास गर्ने भएकाले यसलाई रोक्न नहुँने भन्दै आफुहरु अनशनमा बसेको उनीहरुले बताएका छन् ।

सडक डिभिजन कार्यालयले यस पटक खुट्टा कमाउन नहुने भन्दै उनीहरुले सरकारले कम भन्दा कम क्षति हुने गरी सडक विस्तारको उपाय खोज्नुपर्ने बताए । हेटौंडा–१५ देखि राप्तिपुलसम्मको क्षेत्रमा पर्ने सरकारी जग्गाहरुको उपयोग गर्दै सडक विस्तार गरे कम क्षति हुने उनीहरुको भनाई छ ।

उनीहरुले सडक विस्तार कार्यमा आफुहरुको कुनै स्वार्थ नभएको तर, हेटौंडाको विकास वर्षौदेखिको अन्यौलताले निकास पाएको हेर्न चाहेको उल्लेख गरे । साथै अनसनरत ती बाबुछोरा आफ्नो यस अभियानलाई साथ दिन आग्रह समेत गरेका छन् ।