सडक विस्तार प्रकरणः भूमिहीन सुकुम्बासीलाई बाँडिएको थियो राजमार्गको जग्गा

तु खबर संवाददाता
२०८० श्रावण १३,शनिबार १०:५०
file photo

मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा बजार क्षेत्रको सडक सीमा भित्रकै जग्गा विगतमा भूमिहीन सुकुम्बासीलाई उपलब्ध गराइएको पाइएको छ ।

तत्कालिन सुकुम्बासी समस्या समाधान आयोगले २०५२ देखि २०६७ सम्ममा पटक–पटक सडक सीमा भित्रकै जग्गा भूमिहीन सुकुम्बासीलाई उपलब्ध गराएको पाइएको हो ।

त्यतिबेला सुकुम्वासी समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष नेकपा एमालेका नेता अनन्त पौडेल थिए । सडक डिभिजन समेत आयोगको पदेन सदस्यको रुपमा रहेको थियो ।

आयोगले तत्कालीन समयमा कर्रा पुल पारी हेटौँडा–८ र ९ को सडक किनारमा भूमिहीन सुकुम्वासी ४० घरधुरीलाई लालपुर्जासहित जग्गा उपलब्ध गराएको थियो ।

हेटौँडा–८ को रेडक्रस भवनबाट उत्तरतर्फ कर्रापुलसम्म र हेटौँडा–९ को सोही दुरीमा सुकुम्वासी भएको प्रमाणित गरी जग्गा वितरण गरिएको थियो । हेटौँडा–८ तर्फ लक्ष्मण राई, भक्तबहादुर राई, प्रेम बहादुर राई, सुरवीर तामाङ, रामेश्वर श्रेष्ठ, विमान तामाङ, हेटौँडा–९ तर्फ नरहरि सुवेदी, तीर्थ दास मानन्धर, सिताराम अधिकारी, गुलाम हुसेन, अवसर मिया, कृष्ण बहादुर थापा, जितबहादुर परियार, नीलबहादुर ठकुरी, कृष्णप्रसाद खनाल, मोहन कुमार कार्की, ईश्वरी प्रसाद सुवेदी, अनन्त प्रसाद सुवेदी र उमानाथ अर्याल लगायतलाई आयोगले जग्गा उपलब्ध गराएको थियो ।

हेटौँडा–९ को कित्ता नम्बर ८७५४, ८७५३, ६५६९, ४९२४, ४९२६, ४८९७, ७२६४, ७२६०, ६५७६, २७०, २६२; २७४, ४९४४, ८७५५, ४९२२, हेटौँडा–८ को कित्ता नम्बर ६५७५, ६५७१, २७५, ६५६८, १४९७, ६५७०, ८७५२ आयोगबाट घडेरी प्राप्त भई घर निर्माण गरी भोग चलन गर्दै आएका थिए ।