मंगलबारबाट हुने भनिएको सडक विस्तारको काम रोकियो

तु खबर संवाददाता
२०८० श्रावण १६,मंगलवार ०९:०९

मकवानपुर । पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्नेे हेटौंडा बजार क्षेत्रमा मंगलबारबाट हुने भनिएको सडक विस्तारको काम नहुने भएको छ ।

सर्वोच्च अदालतले हेटौंडाको घरधनीको नाममा अन्तरिम आदेश दिएको र मंगलबार छलफलका लागि बोलाएका कारण सडक विस्तार गर्ने अभियान प्रभावित भएको सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख राजेशकुमार यादवले जानकारी दिए ।

सडक डिभिजन कार्यालयले यसअघि गत असार १० गते ३५ दिने सूचना जारी गर्दै हेटौंडा बजार क्षेत्रमा राजमार्गको दाया–बायाँ २५/२५ मिटर सडक विस्तार गर्ने जानकारी गराएको थियो ।

सडक डिभिजन कार्यालयले जारी गरेको सूचना सोमबार सकिएसँगै मंगलबारबाट हेटौंडा बजार क्षेत्रका घरहरु भत्काउने भनिएको भएपनि हालका लागि हेटौंडाको राप्तीपुलदेखि रातोमाटेसम्मको सडक विस्तार तत्काललाई रोकिने भएको हो ।

कार्यालयका प्रमुख यादवले सर्वोच्चमा छलफल पछि आउने निष्कर्षले सडक विस्तार कार्य अघि बढ्ने की नबढ्ने भन्ने टुंगो लाग्ने बताए ।