भारतको उत्तर प्रदेशमा पहिरोमा परेर १७ जना नेपाली बेपत्ता

सुर्खेत । भारतको उत्तर प्रदेशस्थित गौरीकुण्डमा पहिरोमा परेर १७ जना नेपाली बेपत्ता भएका छन् । पहिरोमा परेर बेपत्ता हुनेमा हुम्लाका १० जना र जुम्लाका ७ जना रहेका छन् ।
बेपत्ता हुनेहरुमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावतलगायत रहेको खुलेको छ ।
यसैगरी, हुम्लाका वीरबहादुर नाम गरेका व्यक्तिले गौरीकुण्डमा होटेल सञ्चालन गर्दै आएका थिए । उनको होटेलमा खाना खान गएका बेला पहिरोले होटेल बगाएको बताइएको छ । पहिरोमा परेर होटेल सञ्चालक वीरबहादुर उनकी श्रीमती सुमित्रा, छोरी निशा र छोरा हरिबहादुर पनि बेपत्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
संचारमाध्यमका अनुसार, उनीहरूको थर भने खुलेको छैन । वीरबहादुरकै होटेलमा खाना खान गएका धर्मराज बुढा र उनका छोरा मानबहादुर बुढा पनि बेपत्ता छन् ।
यस्तै, पहिरोमा परेर अमर बोहरा, उनका छोराहरू मानबहादुर, पृथ्वी, जटिल र वकिल, श्रीमती अनिता, छोरीद्वय राधिका र पिंकी पनि बेपत्ता भएका छन् । तर, उनीहरू कुन ठाउँका हुन् भने खुलेको छैन ।
बेपत्ता भएका सबैको खोजी भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ । यो क्षेत्रमा भारी वर्षा भइरहेकाले उद्धार तथा खोजीमा कठिनाइ भएको बताइएको छ ।