मेयर लामालाई १२ प्रश्नः हेटौंडाको योजना र प्राथमिकता के/के छन् ?
स्थानीय जनताद्वारा निर्वाचित भई स्थानीयस्तरमा नै शासन व्यवस्था सञ्चालन गर्ने जनप्रतिनिधिमूलक शासकीय संरचना हो स्थानीय तह । संघीयतापश्चात् मुलुकमा संघ, प्रदेश र स्थानीय तह गरी ७६१ वटा सरकार क्रियाशील छन् ।
नेपालको संविधानले स्थानीय तह अन्तरगत गाउँपालिका, नगरपालिका र जिल्ला सभा रहनेछन् भनी उल्लेख गरेको छ । अहिले नेपालमा ४६० गाउँपालिका, २७६ नगरपालिका, ११ उपमहानगरपालिका र ६ महानगरपालिका गरी ७५३ वटा स्थानीय तह रहेका छन् ।
स्थानीय तह संघीयताको पहिलो खुड्किलो हो । मुलुकको सर्वतोमुखी विकासका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुन्छ । यसले लोकतन्त्रको आधार स्तम्भको रुपमा रही जनतासँग प्रत्यक्ष सम्बन्ध राख्दछ ।
संविधानले दिएको अधिकारको प्रयोग गर्दै जनताको सबैभन्दा नजिकको सरकार र सुखदुःखको साथीको रुपमा स्थानीय सरकारले आफ्नो भूमिका निभाइरहेको छ । जनताको दैनिकीसँग ठोकिनुपर्ने भएकाले स्थानीय सरकार र जनताबीच साक्षात्कार बढी हुने गर्दछ ।
सिंह दरबारको अधिकार घरघरमा पुर्याउँदै जनताको आवश्यकता र चाहाना अनुसार अघि बढ्नुपर्ने भएकाले स्थानीय सरकारलाई केही चुनौती पक्कै छ । तर, जनादेशपछि पाँच वर्षसम्म स्थिर हुने भएकाले जनताको अपेक्षा स्थानीय सरकारसँगै धेरै हुने गरेको छ ।
हेटौंडा बागमती प्रदेशको राजधानी हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय महत्व बोकेको यो नगरीलाई अझै विकसित तुल्याउँदै यहाँको सर्वतोमुखी विकास गर्न सके हेटौंडा मुलुकमै सबल र स्थापित सहर बन्न सक्छ । शिक्षा, स्वास्थ्य, कृषि एवम् आद्योगिक विकासका लागि पनि प्रचुर संभावना भएको हेटौंडालाई सुन्दर, सफा, हराभरा बनाउने र यहाँका नागरिकले लोककल्याणकारी स्थानीय सरकारको अनुभूति गर्ने वातावरण सिर्जना गर्ने जिम्मेवारी पाएका यहाँका जनप्रतिनिधिको चाँही अनुभव कस्तो छ त ? तु खबरले यसबारे जान्ने प्रयास गरेको छ । अवसर र चुनौती दुवैको सामना गर्दै नगर र नगरवासीको हितमा खटिइरहेकी मेयर मिनाकुमारी लामासँग उपमहानगरका विविध पक्षमाथि हामीले चासो व्यक्त गरेका छौँ । प्रस्तुत छ, मेयर लामासँग गरिएको कुराकानीको सम्पादित अंश ।
यहाँले सपथ ग्रहणलगत्तै विपन्न जनताको लागि स्वास्थ्य बीमा, १५ हजार लिटर पानी र २५ युनिटसम्म विजुली निशुल्क गर्ने लगायतका ५ निर्णय गर्नुभएको थियो । तर, पूर्ण कार्यान्वयन हुन सकेको छैन । समस्या कहाँ भयो ?
धन्यवाद । सबै कुरा पूर्ण कार्यान्वयन हुन नसकेपनि जनताको बीचमा गरेको प्रतिवद्धता हामी क्रमिक रुपमा पूरा गर्दैछौँ । जसअनुसार १० हजार लिटर खानेपानी निशुल्क वितरणको काम सुरु भएको छ । ७ हजार ५ सय उपभोक्ताहरुले शुन्य लागतमा उपभोग गरिरहनुभएको छ । १४ हजार ४१ जनाको निशुल्क स्वास्थ्य बीमा गर्यौँ ।
सडकबीचमा भएका विद्युतको पोलहरु हटाउन प्राधिकरणसँग समन्वय गरेर अघि बढेका छौँ । उपभोक्तालाई विजुलीमा न्यूनतम शुल्क छुट गर्नेबारे अध्ययन भइसकेको छ । रिपोर्ट आउनासाथ कार्यान्वयनमा लैजान्छौँ । अन्य प्रतिवद्धताका कुराहरुलाई हामीले तीव्रताका साथ अघि बढाइरहेका छौँ ।
हामीले मेयरसँग छात्रवृत्ति कार्यक्रम पनि सुरु गरिसकेका छौँ । प्लस टु र ब्याचलरका विद्यार्थीलाई हामीले प्रदान गरेका छौँ । एमबीबीएस पढ्ने भाइबहिनीहरुका लागि वातावरण बनाएका छौँ ।
झण्डै एक वर्षको अनुभव समग्रमा कस्तो रह्यो ? चुनौतीहरु के–के देखिए ?
प्रतिवद्धता गरेका कामहरु नियमानुसार सम्पन्न गर्नुपर्ने हुन्छ । प्रक्रियागत ढंगबाट गर्दा चाँडो नहुने रहेछ । त्यो एउटा चुनौती छ । जनताको आकांक्षा चाँडो होस् भन्ने हुन्छ । चुनौतीलाई अवसरको रुपमा लिएर कामलाई तीव्रता दिइरहेका छौँ । समग्रमा एक वर्षको अवधिमा उपमहानगरबाट जनहितका धेरै काम भएका छन् । जनताको सहयोग पनि प्राप्त भएको छ । यो अवधिमा जनताका समस्यालाई अझै नजिकबाट पहिचान गर्न सकियो । अब क्रमैसँग समाधान गर्दै लैजान्छौँ ।
तपाईको नेतृत्वलाई महिलाको प्रतिनिधित्वको रुपमा पनि हेरिएको छ । महिला हितका सन्दर्भमा उपमहानगरले के कस्ता कार्यक्रम अघि सारेको छ ?
हामीले महिला लक्षित थुप्रै कार्यक्रम ल्याएका छौँ । उहाँहरुलाई सिपसँग जोडेर आयआर्जनमा बृद्धि गराउन पहल गरिरहेका छौँ । बेलाबेलामा महिलालाई निशुल्क लोकसेवा कक्षा दिने गरेका छौँ । महिला सशक्तिकरण र उद्यमशीलतासँग सम्बन्धित भएर विभिन्न तालिम प्रदान गर्दै आएका छाँै । उद्यमशीलता सुरु गरेका महिलालाई कोसेली घर निर्माण गरिदिएका छौँ । उहाँहरुको उत्पादन त्यहाँ विक्रि गर्ने प्रबन्ध मिलाएका छौँ । अहिले हामीले ढाका घर सुरु गरेका छौँ । सिपमुलक तालिम पनि दिइरहेका छौँ ।
आर्थिक रुपान्तरण नभएसम्म कसैले प्रगति गर्न सक्दैन । त्यसकारण हामी महिलालाई आर्थिक सशक्तिकरणका लागि घरेलु तथा साना उद्योगसँग जोडेर विशेष रणनीतिका साथ अघि बढेका छौँ । महिला मात्रै नभएर बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिकहरुको हितका सन्दर्भमा पनि हामीले राम्रा योजना अघि सारेका छौँ । म महिलाहरु कमजोर छैनन्, अवसर पाएर महिलाले पनि गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्न चाहान्छु । आम महिला दिदिबहिनीहरुको लागि प्रेरणा बन्न चाहान्छु । हरेक क्षेत्रमा महिला पुरुष र तेस्रो लिङ्गी समूदायसमेतको समान अवसर र सहभागिताको लागि पहल गर्नेछु ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा बजार क्षेत्रको सडक दायाँबायाँ २५/२५ मिटर विस्तार गर्ने विषयमा उपमहानगरको स्पष्ट धारणा के हो ? ढल तथा फोहोर तथा विजुलीका तार व्यवस्थापन गर्ने, साँघुरा सडक फराकिलो बनाउने विषयमा उपमहानगरले कस्तो अवधारणा लिएको छ ?
हामीले नगर सभाबाटै निर्णय गरिसकेका छौँ । एसिएन हाइवेको मापदण्ड क्लियर गरेर जानुपर्छ । यसका लागि प्रधानमन्त्री प्रचण्डसहित विषयगत मन्त्रीलाई जानकारी गराएका छौँ । यो विषय चाँडै टुंगो लगाउनुपर्यो । सबैलाई न्यायसँगत ढंगले अघि बढाउनुपर्यो । यो विषय धेरै गिजोलिँदा हेटौंडाको विकासमै असर पर्ने देखिएकाले तत्काल एउटा निष्कर्षमा पुग्न हामीले सरोकारवालाहरुसँग पहल गरिरहेका छौँ ।
हेटौंडा बागमती प्रदेशको राजधानी हो । संघीय सरकार र प्रदेश सरकारको पनि हेटौंडा कस्तो बनाउने भन्ने भिजन हुनुपर्छ । हामी त यसलाई अब्बल बनाउन लागि परेका छौँ । तीनै तहका सरकारबीच समन्वय भयो भने अवश्य पनि नमूना सहर बनाउन सक्छौँ । हामी सबै जनप्रतिनिधिको लभिङ, संघीय सरकार र प्रदेश सरकारको भिजनसँग हाम्रो भिजन एकिकृत गरेर हेटौंडा बनाउने हाम्रो चाहाना हो ।
हेटौंडा बनाउने कुरामा हेटौंडाको मेयर, उपमेयर र वडा अध्यक्षहरुले मात्रै चाहेर हुने कुरा होइन । सातै प्रदेशको राजधानीको पनि राजधानी भएकाले सबैले सहयोग गर्न आवश्यक छ ।
हामीले बाहिर लथालिङ्ग अवस्थामा रहेका तारलाई अण्डरग्राउण्ड बनाउने विषयमा अध्ययन सुरु गरिसकेका छौँ । आधारभूत अस्पताल सुरु गरेका छौँ । तराईसँग जोडिएकाले हेटौंडा शैक्षिक हव पनि बन्दै छ । हामीले ब्याचलर इन्जिनियरिङ पनि सुरु गर्ने लक्ष्य लिएका छौँ । ब्याचलर लेभलको इन्जिनियरिङ अध्ययन गराएर चारै तिरबाट राजधानीमा राम्रो अध्ययन गर्न मिल्ने ठाउँको रुपमा हाम्रो नेतृत्वमा अभियान सुरु भइसकेको छ ।
हाम्रो उद्देश्य, शिक्षा, स्वास्थ्य र औद्योगिक क्षेत्रमा विकास गर्ने हो । बन्द अवस्थामा रहेका उद्योगलाई सञ्चालन गर्न पहल गरिरहेका छौँ । नेपालकै दोस्रो आद्योगिक क्षेत्रका लागि २१७ विगाह क्षेत्र व्यवस्थित भइसकेको छ । चाँडै उद्योगधन्दा सुचारु गर्न पहल गर्छौँ । आफ्नै उत्पादन सूरु नगरी विकास हुन सक्दैन भन्ने लाग्छ । पूर्वाधार विकासमा पनि काम गरिरहेका छौँ । यहाँको ढल तथा फोहोर व्यवस्थापनको क्षेत्रमा प्रभावकारी रुपमा काम भइरहेको छ ।
पूर्वाधार र विद्यार्थी नभएका सामुदायिक विद्यालयको व्यवस्थापन कसरी गर्नुहुन्छ ? नीजि विद्यालय र सामुदायिक विद्यालयबीचमा रहेको शैक्षिक गुणस्तरको खाडल पुर्न उपमहानगर के गरिरहेको छ ?
राम्रो पश्न गर्नुभयो । हामीले हेटौंडामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रोत्साहन गर्दै आएका छौँ । सिद्धार्थ, भुटनदेवी, आधुनिक, जनप्रियलगायत विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि गरिरहेका छन् । त्यसो हुँदाहुँदै पनि बालबालिका कमजोर हुन्छन् कि भन्ने सोचेर सामुदायिक विद्यालयमा बालबालिका नपढाउने कारणले खाडल बनेको हो जस्तो लाग्छ ।
त्यो खाडल भर्न सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममबाट शिक्षा सुरु गर्ने थालनी गरेका छौँ । शैक्षिक सामग्री पनि सोही अनुसार वितरण गरेका छौँ । जस्तो अहिले राष्ट्रपति शिक्षा कार्यक्रमसँग जोडेर लैजाने विषयमा ध्यान दिएका छौँ । पूर्वाधार र विद्यार्थी कम भएका विद्यालयलाई मर्ज गरेर शैक्षिक गुणस्तर बढाउने तयारीमा हामी छौँ । पूर्वाधार पुनः निर्माणमा सहयोग गर्दै आएका छौँ । विशेषगरी शिक्षा राम्रो दिने भन्ने कुरामा शिक्षा सुधार समिति बनाएर हामी अघि बढ्दैछौँ ।
सार्वजनिक यातायातलाई सुरक्षित, भरपर्दो र विश्वासिलो कसरी बनाउने ? विद्युतीय सवारी प्रवद्र्धन गर्नेतर्फ तपाईको सोच के छ ?
यातायात भन्ने वित्तिकै ट्राफिक व्यवस्थापनको कुरा आउँछ । हामीले अटो व्यवस्थापन गर्यौँ । समिति बनाएर करिब १७ हजारको हाराहारीमा अटोलाई स्टिकर टाँस गर्यौँ । बेथितिमा चलेकालाई निकाशा पनि दिएका छौँ ।
विद्युतीय सवारी साधन चलाउन अध्ययन गरिरहेका छौँ । चार्जिङ सेन्टर सुरु पनि गरेका छौँ । संघ सरकारको कार्यक्रम अन्तर्गत १५ नम्वर वडाको रातोमाटेमा चार्जिङ स्टेशन सुरु भएको छ । विद्युतीय सवारीको लागि अध्ययन भइरहेको छ । आगामी दिनमा नीजि सवारीलाई भन्दा पनि सार्वजनिक सवारीलाई प्रोत्साहन दिने नीति अवलम्वन गर्छौँ ।
हरियाली सहरी सौन्दर्यको अनिवार्य शर्त हो । उपमहानगरलाई हराभरा बनाउन के गर्नुहुन्छ ?
ठिक भन्नुभयो । हरियाली वातावरण हाम्रो सम्पदा हो । हेटौंडालाई कसरी नयाँपन दिने भन्ने कुरामा हाम्रो चासो छ । हामीले सहरको सडक, सार्वजनिक क्षेत्र, खेल मैदानलगायत क्षेत्रमा फलफूलका बोटविरुवा रोपेका छौँ । सहरी सौन्दर्य बढाउन बजार क्षेत्रमा विभिन्न प्रजातीका विरुवा रोपेका छौँ । हेटौंडालाई रङ् रोगन पनि गरिरहेका छौँ । चार वटा रङ लगाएर चार वटा जोन बनाएका छौँ ।
हेटौंडा सफा सहरको रुपमा स्थापित छ । हामीले सरसफाइमा प्रभावकारी रुपमा काम गरिरहेका छौँ । त्यस्तै हङ्कङ् बजारलाई स्र्माट आधुनिक बजार बनाउन डिपिआर सुरु गरेका छौँ । बसपार्कलाई आधुनिक बनाउँदैछौँ । नगरवासीलाई कसरी सेवा दिने भन्ने हिसाबले पनि अलिकती प्रविधिसँग जोडेर अघि बढेका छौँ । तरकारी थोक बजारलाई आधुनिकिकरण गर्ने, प्रविधि कसरी जोड्ने भन्ने कुरालाई जोडेर हामी काम गर्दैछौँ । त्यसकारण बाहिरबाट हेर्दा पनि हेटौंडा वातावरणमैत्री र आधुनिकिकरण हो भन्ने हिसाबले त्यो मोडालिटिमा हेटौंडाको प्रोफाइल बनाएर हामी अघि बढेका छौँ । अब बन्ने नयाँ संरचना प्रविधिसँग जोडेर बन्नुपर्छ भन्नेमा हामी छौँ ।
सार्वजनिक शौचालयको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
हामीले अध्ययन गरेर हालै निर्णय पनि गरिसक्यौँ । ४ वटा स्मार्ट शौचालय बनाउने गरी डिपिआर तयार गरिरहेका छौँ । चाँडै निर्माण प्रक्रिया अघि बढ्छ । आवश्यकता अनुसार थप गर्दै लैजान्छौँ ।
हेटौंडाको कला, संस्कृति र यहाँको सांस्कृतिक वैभवलाई कसरी अगाडि बढाउनुहुन्छ ? सम्पदा र सभ्यतालाई जीवन्त राख्न उपमहानगरको पहल के हुन्छ ?
यसका लागि हामीले कार्यविधि पास गरेर प्रज्ञा प्रतिष्ठान कै परिकल्पना गरेका छौँ । कार्यविधि स्वीकृत भएको छ । प्रज्ञा प्रतिष्ठान बन्छ । सोही प्रतिष्ठान अन्तर्गत काम गर्छौँ ।
उपमहानगरपालिकाले लिने करमा निकै बृद्धि भयो भन्ने नागरिकहरुको गुनासो छ । आन्तरिक आम्दानीको स्रोत बढाउन रचनात्मक काम गर्न सकिँदैन ?
त्यही गुनासो नहोस् भन्नका लागि हामीले कर भन्दा पनि दायरा बढाउँदै लगेका छौँ । जस्तै अहिले हरेक पसलहरुमा, घरहरुमा बहालकार तिर्ने वातावरण बनाउन सचेतना लिने, पसल व्यवसाय दर्ता नविकरण सचेतना गर्ने घरदैलो कार्यक्रमका लागि शिविर सञ्चालन गरिरहेका छौँ । कोरोनामा काम गर्न नपाएकाले त्यसपछि विभिन्न कारणले चुनाव आएकाले जनतालाई कर बढि भएको जस्तो लागेको हो ।
नियमानुसार २/२ वर्षमा १०/१० प्रतिशत बढाउनुपर्ने नै हुन्छ । त्यसैले पनि अलिअलि बढेको देखिएको हो । हामी कर धेरै लिने पक्षमा छैनौँ । दायरा बढाउँछौँ ।
कर सचेतना गर्दैछौँ । विदेश जानुपर्यो भने जतिपनि कर बढाएर मुल्यांकन धेरै गर्देउ भन्नुहुन्छ । तर, रेगुलर कर तिर्न कोही पनि मान्नुहुन्न । परिआएको अवस्थामा मात्रै कर तिर्ने परिपाटी छ । हामी सचेतना जगाउँदैछौँ ।
आगामी योजना र प्राथमिकता के–के हुन् ?
सडक पूर्वाधारको विकास गर्ने, हेटौंडा अस्पतालको स्तरोन्नती गर्ने, शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लगायत लक्ष्य लिएका छौँ । हेटौंडा यस्तो स्थानीय सरकार हो जहाँका जनताले पानी र विजुली निशुल्क पाउँछन् भन्ने बनाउँदैछौँ । सामाजिक सुरक्षाको विषयमा विशेषगरी ध्यान दिन्छौँ । जुन अहिले आएको प्रविधिसँग जोडेर काम गर्छौँ । जनताले अनुभूति हुनेगरी काम गर्न चाहान्छौँ । सुरु चाँही गरेछन् है भन्ने बनाउँछौँ ।
सवालः अन्त्यमा केही भन्न चाहानुहुन्छ की ?
जवाफः हेटौंडावासीलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु । उपमहानगरपालिकालाई विभिन्न तरिकाले सहयोग पुर्याइरहनु्भएको छ । अर्को कुरा समग्र हेटौंडालाई विकास गर्ने क्रममा सबै जनाको हामी समन्वयात्मक एवम् सहयोगपूर्ण भूमिका चाहान्छौँ । हेटौंडा जनप्रतिनिधिको मात्रै होइन सबैको हो । हामी शासक होइन सेवक भएर काम गर्न चाहान्छौँ । सबैको सुझाव, सल्लाहको अपेक्षा गर्न चाहान्छु । जनताको मतको सम्मान गरेर काम गर्छौँ । मेरो कुरा जनतासामु पुर्याइदिनुभएकोमा तु खबर परिवारलाई पनि धन्यवाद दिन चाहान्छु ।