हेटौंडा सडक विस्तारमा सर्वोच्चको पेशी पुनः सर्यो
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा बजार क्षत्रेको सडक विस्तारमा सर्वोच्च अदालतको पेशी पुनः सरेको छ । अदालतले साउन २१ गते आइतबारका लागि तोकेको पेशी हेर्न नमिल्नेमा परेपछि आगामी साउन २९ गतेसम्मको लागि सारेको हो ।
सर्वोच्चले आइतबारका लागि पेशी तोक्दै सडक विस्तारमा सर्वपक्षीय छलफलका लागि उपस्थित हुन आदेश गरेको थियो । सर्वोच्चले गत साउन ८ मा जारी गरेको अल्पकालीन अन्तरिम आदेशले सडक विस्तार कार्य रोकिँदै आएको थियो ।
सर्वोच्चले जारी गरेको अल्पकालीन आदेशमा साउन १६ मा सर्वपक्षीय छलफलका लागि उपस्थित हुन पेशी तोकेको थियो । उक्त दिन पनि सडक विस्तार सम्बन्धी रिट हेर्न नमिल्नेमा परेपछि २१ गते आइतबारका लागि पेशी तोकिएको थियो ।
सडक डिभिजन कार्यालय हेटौंडाले पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने हेटौंडा बजार आसपासको जमिनमा रहेका घरटहरा लगायतका संरचना हटाउन जारी गरेको ३५ दिने सूचनाको म्याद गत साउन १५ गते सोमबार सकिएको थियो ।