एनआरएनए विश्व सम्मेलन अक्टोवर १७–२० मा हुने

तु खबर संवाददाता
२०८० श्रावण २२,सोमबार ०९:०३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा महाधिवेसन १७ देखि २० अक्टोवरसम्म काठमाडौंमा हुने भएको छ ।

आइतबार बसेको पदाधिकारी बैठकले युवा, विज्ञ सम्मेलन समेत सोही अवधिमा गर्ने औपचारिक निर्णय गरेको गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले जानकारी दिए ।

सो बैठकले संघको अगामी महाधिवेशनको लागि उम्मेदवारी शुल्कमा समेत कटौती गरेको छ । संघको युवा तथा महिला पदाधिकारीहरुको लागि ७५ र अध्यक्षसहित अन्य पदाधिकारीहरुको लागि ५० प्रतिशत उम्मेदवारी शुल्क घटाउने निर्णय भएको उनले बताए ।

बैठकले संघको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुको दर्ता अगष्ट १० देखि २५ तारिखसम्म खुल्ला गर्ने निर्णय गरेको छ ।

पहिलो चरणमा ९० प्रतिशत पूर्वपदाधिकारीहरुले ‘स्मार्ट एनआरएनए’ एप मार्फट आफैले प्रतिनिधि दावी गर्न सक्ने संघले जनाएको छ । बाँकी १० प्रतिशत संघका राष्ट्रिय समितिको कार्यसमितिको बैठकको सर्वसम्मत निर्णयबाट केन्द्रमा सिफारिश गर्नुपर्ने वैधानिक प्रावधान रहेको छ ।