संयुक्त राष्ट्रसंघ स्थायी नियोगको राजदूतमा थापा नियुक्त
काठमाडौं । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको स्थायी नियोगको राजदूतमा लोकबहादुर थापा नियुक्त भएका छन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राष्ट्रसंघको स्थायी नियोगको राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
कुटनीतिक क्षेत्रमा परिचित नाम थापाले यस अघि विभिन्न देशमा राजदुतको रुपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
गत असार २६ गतको मन्त्रिपरिषद बैठकले थापालाई राजदूतमा सिफारिस गरेको थियो भने संसदीय सुनुवाइ समितिले उनको नाम १८ साउनमा नियुक्तिका लागि अनुमोदन गरेको थियो ।
सन् १९९० मा परराष्ट्र सेवा प्रवेश गरेका थापाले अधिकृत, द्वितीय सचिव, प्रथम सचिव, राहदानी विभागको महानिर्देशक लगायतका थुप्रै नियोग तथा दुतावासमा जिम्मेवारी पुरा गरिसकेका छन् ।
राष्ट्रपति कार्यालयले दक्षिण अफ्रिकास्थित नेपाली राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मौरिसस र गणतन्त्र जाम्बिया, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई उत्तर कोरिया र ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्लेलाई पाराग्वेका लागि गैरआवासीय राजदूत पदमा नियुक्ति गरिएको जानकारी दिएको छ ।