सभामुखसहित शीर्ष नेताको बैठक आज पुनः बस्दै

तु खबर संवाददाता
२०८० श्रावण २३,मंगलवार ०८:१६
file-photo

काठमाडौं । सभामुख देवराज घिमिरेसहित शीर्ष नेताहरुको बैठक आज पुनः बस्दैछ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण प्रतिनिधि सभामा उत्पन्न गतिरोध अन्त्य गर्न आज बिहान शीर्ष नेताहरुबीच पुनः छलफल हुने भएको हो ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे १० बजेदेखि सुरु हुने भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीलगायतको सहभागिता रहनेछ ।

सोमबार दुई चरणमा भएको छलफलबाट सहमति हुन नसकेपछि आज बिहान पुनः बैठक बस्ने तय भएको हो ।

सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा लिएको अडान लिँदा संघीय संसदको दुबै बैठक बस्न सकेको छैन ।