अब सुर्तीजन्य पदार्थ जैविक रुपमा सडेर जाने वस्तुमा मात्र प्याकिङ गर्नुपर्ने
काठमाडौँ । सरकारले सुर्ती, खैनी, गुट्खा, पान मसला वा यस्तै प्रकारका वस्तु जैविक रूपमा सडेर जाने वस्तुमा मात्र प्याकिङ गर्नुपर्ने व्यवस्था गरेको छ । आइतबार आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो ।
जारी सूचनामा अन्तःशुल्क नियमावली २०५९ मा भएको चौविसौँ संशोधनले २०८१ वैशाख १ गतेबाट सुर्ती, खैनी, गुट्खा, पान मसला वा यस्तै प्रकारका वस्तु जैविक रूपमा सडेर जाने वस्तुमा मात्र प्याकिङ गर्नुपर्ने व्यवस्था गरिएको उल्लेख छ ।
सरकारको नियमअनुसार आयातकर्ताले समेत नेपालभित्र प्लास्टिकका खोलमा यस्ता वस्तु बिक्री गर्न नपाउने भएका छन् । उनीहरुको हकमा पैठारी गर्न इजाजत पाएका प्रतिष्ठानले त्यस्ता वस्तुको प्याकिङ सड्ने वस्तुमै गर्नुपर्ने गरी नियम ल्याइएको छ ।
विभागले तोकिएको अवधिभित्रै सो प्रावधान लागू गर्नेगरी तयारीमा जुट्न सूर्ती उत्पादकहरुलाई सचेत गराएको छ ।