एनआरएनएको उपमहासचिव पदमा सापकोटाको उम्मेदवारी घोषणा

तु खबर संवाददाता
२०८० श्रावण ३१,बुधबार १३:३४

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी (२०२३–०२५) कार्यकालका लागि उपमहासचिव पदमा सोम सापकोटाले उम्मेदवारी घोषणा गरेका छन् ।

वर्तमान एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका प्रवक्तासमेत रहेका सापकोटाले आफु केन्द्रीय उप–महासचिव पदमा उम्मेदवारी दिने बताए ।

संघको स्थापना कालदेखि नै सक्रिय सापकोटा संघको विभिन्न पदीय जिम्मेवारीमा रहेर नेपाल र नेपालीहरुको हक हितका लागि क्रियाशील छन् ।

‘संस्थाको सुदृढ़ीकरण, पूर्ण ब्यबस्थित साथै विश्वभर छरिएर रहनुहुने प्रवासी नेपालीहरुलाई एउटै छानामुनी केन्द्रित गर्दै भाईचाराको सम्बन्ध विकास गरी प्रवासमा बस्ने नेपालीहरुको साझा संगठन निर्माणमा क्रियाशिल हुनेछु । साथै गैरआवासीय नेपाली संघको केन्द्रिय कार्यालयबाट जे जति सेवा प्रवाह हुनुपर्ने हो हामीले दिन सकेका छैनौं । हाम्रो सचिवालयलाई व्यवस्थित मर्यादित पारदर्शी प्रविधिमैत्री बनाएर संघको संस्थागत विकास गर्ने मेरो लक्ष्य छ । त्यसैले उम्मेदवारी दिएको हुँ ।’ सापकोटाले भने ।

सन् २००६ मा गैरआवासीय नेपाली संघ पोर्चुगलको राष्ट्रिय समन्वय परिसदको निर्वाचित सदस्य हुदै संघमा जोडिएका सापकोटाले सन् २००८ मा डेनमार्कको संस्थापक अध्यक्षको जिम्मेवारी निर्वाह गरे । सापकोटा सन् २०११ –२०१३ सम्म गैर आवासीय नेपाली संघको केन्द्रिय सदस्य, सन् २०१५ –२०१७ यूरोपको उप संयोजक र सन् २०१७ –२०१९ गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिसदको सहकोषाध्यक्षमा निर्वाचित भए ।

त्यस्तै सन् २०१९ –२०२१ केन्द्रीय सल्लाहकार भएर संघलाई थप उच्चाईमा पुर्याउन क्रियाशील रहे । उनी हाल संघको प्रवक्ताको जिम्मेवारीमा छन् ।

लामो समयदेखि संघमा आवद्द रहेर सापकोटाले संघको उचाई र गरिमा बढाउन उल्लेख्य भूमिका खेलेका छन् । नेपालमा गैरआवासीय नेपाली संघमार्फत् प्रविधिमैत्री पुस्तकालयको स्थापना, नेपालको पर्यटन प्रवद्र्धन गर्न र प्रवासी नेपालीहरूलाई नेपालमा लगानी गरेर रोजगारी बढाउन उनको विशेष भूमिका छ ।

गैरआवासीय नेपाली संघको एघारौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज ३० गतदेखि कार्तिक ३ गतेसम्म (१७–२० अक्टोबर, २०२३) मा काठमाडौंमा हुदैछ ।