आँखा पाक्ने रोगको महामारीले अस्पतालमा विरामीको भीड

तु खबर संवाददाता
२०८० श्रावण ३१,बुधबार १५:००
तस्वीरः सन्देश थिङ
तस्वीरः सन्देश थिङ

हेटौंडा । मकवानपुरमा आँखा पाक्ने रोगका विरामीको संख्या बढेपछि आँखा अस्पतालहरुमा उपचार सेवा लिन आउने विरामीको संख्या पनि बढेको छ ।

आँखा रातो हुने, चिलाउने, दुख्ने र आँखाबाट पानी आउने जस्ता लक्षण देखिएपछि उपचार गराउन आउनेको संख्या ह्वात्तै बढेको हो ।

तिलगंगा आँखा प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा सामुदायिक आँखा अस्पतालमा दैनिक करिब ७ सय जना आँखाका विरामी उपचार सेवा लिन आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

‘अन्य समयमा करिब दैनिक २५० देखि ३५० जनासम्म आउनुहुन्थ्यो, अहिले आँखा पाक्ने रोगको महामारीले उपचार सेवा लिन आउने विरामीको संख्या दुई गुणा भएको छ ।’ अस्पतालका कार्यक्रम संयोजनक सुशिल सिंहले बताए ।

अस्पतालमा उपचार गराउन आउनेमध्ये बालबालिका अत्यधिक छन् । विद्यालयमा एउटै कक्षामा धेरै बालबालिका अध्ययन गर्ने र बस्ने गर्दा सो रोगको सङ्क्रमण विद्यार्थीहरूमा बढ्दै गएको हो । ती बालबालिकाबाट घरका सदस्यहरूमा आँखा पाक्ने रोग सरिरहेको छ ।

विरामीको संख्या बढ्दै गएपछि अस्पतालको फार्मेसीमा मौज्दात औषधि सकिन लागेको र अभावको स्थिति आएको छ । यस्तो अवस्थामा पनि सङ्क्रमणका रुपमा फैलिएको सो रोगको सम्बन्धमा हेटौंडा उपमहानगरपालिका, जनस्वास्थ्य कार्यालय हेटौँडा र अन्य पालिकाहरुले खासै ध्यान नदिएको अस्पतालका चिकित्सकहरूको गुनासो छ ।