अवैधानिक रुपमा नियुक्त गरिएको प्राध्यापकलाई घटाउन माग
मकवानपुर । मकवानपुर बहुमुखी क्याम्पसमा विधि विधानभन्दा बाहिर रहेर नियुक्त गरिएको प्राध्यापकलाई हटाउन माग गर्दै संयुक्त विद्यार्थी संगठनले बिहीबार क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् ।
क्याम्पसको विधि विधान भन्दा बाहिर रहेर क्याम्पस प्रशासन र व्यवस्थापन समितिले नियुक्त गरिएको प्राध्यापकहरुलाई तत्काल हटाउन माग गर्दै संयुक्त विद्यार्थी संगठनले क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यायलाई ज्ञापनपत्र बुझाएका हुन् ।
उक्त ज्ञापनपत्रमा अखिल क्रान्तिकारीका अध्यक्ष छोइछाङ लामा, नेविसंघका अध्यक्ष ब्रम्ह, अनेरास्ववियुका अध्यक्ष दीपेश कार्की, विप्लव निकट अखिल क्रान्तिकारीका अध्यक्ष सुवास सि, राप्रविसका अध्यक्ष समृत खतिवडाले हस्ताक्षर गरेका छन् ।
उक्त ज्ञापन पत्रमा मकवानपुर क्याम्पसको नेपाली विषयको प्राध्यापक रामचन्द्र सुवेदीको सेवानिवृत्त पश्चात क्याम्पसलाई नेपाली विषयको प्राध्यापक आवश्यक परेकोले क्याम्पसले एक जना प्राध्यापकको विज्ञापन आह्वान भएको ठाँउमा अवैधानिक रुपमा तीन जना प्राध्यापक नियुक्त गरेको उल्लेख गरिएको छ ।
क्याम्पसको विधि विधान भन्दा बाहिर रहेर नियुक्त गरिएको प्राध्यापकहरुलाई तत्काल हटाउन माग गर्दै संयुक्त विद्यार्थी संगठनले क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएको नेवि संघ क्याम्पस अध्यक्ष बुद्ध बहादुर ब्रम्हले जानकारी दिए ।
यस्तै, उक्त विषयलाई लिएर स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर क्याम्पसले आपत्ति जनाएको छ । विधि र विधानमा रहेर नियुक्त गर्न माग गर्दै स्ववियु मकवानपुर क्याम्पसले बुधबार क्याम्पस प्रमुख उपाध्यायलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।