समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने

तु खबर संवाददाता
२०८० भाद्र ४,सोमबार १०:२६
file-photo

काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा आज बिहान बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए ।

बैठकले भदौ ८ गते मधेश प्रदेशको वीरगञ्जमा, भदौ १२ गते लुम्बिनीको बुटवलमा, भदौ १३ गते सुदूरपश्चिमको धनगढीमा, भदौ १४ गते कर्णालीको सुर्खेतमा, भदौ १५ गते गण्डकीको पोखरामा, भदौ २३ गते बागमतीको हेटौंडामा र भदौ २५ गते कोशी प्रदेशको विराटनगरमा सभा गर्ने निर्णय हो ।

उपाध्यक्ष हमालका अनुसार, मोर्चा बनाउनुको कारण र यसका कामबारे जनतालाई जानकारी दिने उद्देश्यले सभा गर्न लागिएको हो । मोर्चाले यो सभालाई ‘सन्देश सभा’ नाम दिएको छ ।

सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए । मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन् ।

हाल मोर्चाको नेतृत्व एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गर्दै आएका छन् । मोर्चाको नेतृत्व आलोपालो गर्ने निर्णय अनुसार पहिलो कार्यकालको संयोजक माधव नेपाल बनेका हुन् ।