त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुद्रासहित विदेशी नागरिक पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र ८,शुक्रबार ०९:११

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित प्रहरीले बिहीबार एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फिलिपिन्सका नागरिक ३२ वर्षीय आर्सिनो जेआर मेसा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई एक सय दरको ३१ थान, २० दरको पाँच थान गरी जम्मा तीन हजार दुई सय अमेरिकी डलर र एक हजार दरको तीन सय थान, पाँच सय दरको एक हजार एक सय थान गरी रु आठ लाख ५० हजार नेपालीसहित पक्राउ गरेको हो ।

फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा उक्त मुद्रासहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान एवम् कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको जनाइएको छ ।