अब ५ वर्षसम्म विद्यार्थीले नाम, उमेर, थर सच्याउन पाउने
काठमाडौं । अब माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीले ५ वर्षसम्म नाम, थर र जन्ममिति सच्याउन पाउने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले विद्यार्थीले प्रमाण पत्र पाएको ५ वर्षसम्म नाम, थर र जन्ममिति सच्याउन मिल्ने निर्णय गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले समयावधि ६ महिना मात्रै हुँदा धेरै विद्यार्थी समस्यामा परिरहेकोले त्यसलाई संशोधन गरेर कम्तिमा पाँच वर्ष समयावधि राख्नुपर्ने भन्दै गृह मन्त्रालयलाई अनुरोध गरेको थियो ।
बोर्डको पहलमा गृह मन्त्रालयले नियमावली संशोधन गर्नुपर्ने कुराहरू पहिचान गरेर बोर्डलाई सुझाव पठाएपछि त्यसमा बोर्डले थप सुझाव सहित गृहमा पठाएको थियो ।
यसअघि नाम, थर, उमेर सच्याउन चाहने विद्यार्थीले प्रमुख जिल्ला अधिकारी (सीडीओ) समक्ष निवेदन दिनुपर्ने र प्राप्त निवेदन अनुसार प्रमुख जिल्ला अधिकारीले फैसला पर्चा र सिफारिस गरेको आधारमा मात्रै बोर्डले नाम, थर र जन्ममिति सच्याउन मिल्ने व्यवस्था थियो ।
यदि ६ महिना ढिला भएको अवस्थामा सीडीओले पनि फैसला पर्चा बनाउन नमिल्ने नियमले उल्लेख गरेको छ । यदि कसैले नागरिकता प्रमाण पत्र लिइसकेको र सोही अनुसार सच्याउन पर्ने भए पनि ६ महिनाभित्रै सच्याउनको लागि निवेदन दिनुपर्ने व्यवस्था थियो ।