ग्रीसमा नेपालीहरुलाई बन्धक बनाएर फिरौती माग्ने ४ जना पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र ८,शुक्रबार १६:०३

काठमाडौँ । रोजगारीको लागि सर्बिया हुँदै ग्रीस पुगेका नेपालीहरुलाई बन्धक बनाएर फिरौती माग्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने ४ जना नै नेपाली नागरिक हुन् । मोरङको रंगेली–२ की २५ वर्षीया सबित्रा थापा, उदयपुरको त्रियुगा–३ का कृष्ण कार्की र काभ्रेको नमोबुद्ध–१ मथुरापाटीका राजन सत्याल गत जेठमा वैदेशिक रोजगारीका लागि भन्दै सर्बिया पुगेका थिए । एकसाथ सर्बिया पुगेका उनीहरु त्यहाँबाट लुकिछिपी ग्रीस गएका थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार ग्रीसमा उनीहरुले ‘हिन्दी बोल्ने, पाकिस्तानी’ व्यक्तिसँग भेटे । पाकिस्तानी नागरिक भनिएका ती व्यक्ति र उनका सहयोगी समेतले मिलेर साबित्रा, कृष्ण र राजनलाई अपहरण गरेर बन्धक बनाका हुन् ।

ग्रीसमा बन्धक बनाइएका उनीहरुलाई ज्यान गोगाउने भए घरबाट पैसा मगाउन भनियो । ह्वाट्सएप मार्फत् उनीहरुका परिवारका व्यक्तिलाई फोन गरेर प्रतिव्यक्ति १५ हजार युरोका दरले फिरौती रकम पठाउन भनिएको प्रहरीले जनाएको छ ।

फिरौती रकम माग भएपछि उनीहरुका परिवारले प्रहरीमा उजुरी गरेका थिए । सीआईबीले ग्रीसका अपहरणकारीका एजेन्टहरु नेपालमा रहेको पत्ता लगाएपछि अपहरणमा परेका व्यक्तिको उद्धारगरी एजेन्टहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनकुटाको महालक्ष्मी नगरपालिका–५ घर भएका शिवराज कुँवर, काठमाडौंको तार्केश्वर नगरपालिका–५ कमालटार घर भएका ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तुको शिवराज नगरपालिका–१ घर भइ वैदेशिक रोजगारीका क्रममा दुबईमा रहेका प्रकाश बेलबासे र पर्वतको फलेवास नगरपालिका–१ शंखरपोखरी घर भएका ४२ वर्षीय दिलबहादुर थापा छन् ।