काजमा फिर्ता भए/नभएको विवरण तीन दिन भित्रमा पेश गर्न  निर्देशन

तु खबर संवाददाता
२०८० भाद्र ८,शुक्रबार १६:२७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काजमा फिर्ता भए/नभएको विवरण तीन दिन भित्रमा पेश गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले सातै प्रदेश, सबै स्थानीय तह र स्वास्थ्य मन्त्रालय मातहतका सबै निकायलाई पत्राचार गरी काज फिर्ता गरिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको विवरण पेश गर्न निर्देशन दिएको हो ।

गत असार १७ गते मन्त्रीस्तरीय निर्णय गरी काजमा खटाइएका दरबन्दी भएकै स्थानमा फिर्ता गर्न मन्त्रालयले निर्देशन दिएको थियो । तर, राजनीतिक पहुँच र स्वास्थ्य सम्बन्धी ट्रेड युनियनको भनसुनका भरमा स्वास्थ्यका कर्मचारी अझै काजमा बस्दै आएका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार २०७५ सालदेखि असारसम्म ८९१ कर्मचारी काजमा शहरकेन्द्रित पालिकामा कार्यरत थिए । उनीहरूको दरबन्दी भने दुर्गम क्षेत्रमा थियो ।

राजनीतिक पहुँचको भरमा स्वास्थ्यका कर्मचारी दरबन्दी भएको दुर्गम क्षेत्रको साटो काज लिएर शहरकेन्द्रित गाउँपालिका, नगरपालिका तथा महानगरपालिकामा गएका छन् । तर, मन्त्रालयको गत १७ को परिपत्रले कति स्वास्थ्यका कर्मचारी आफ्नै दरबन्दी भएको स्थानमा फर्किएका छन् भन्ने अझै एकिन भएको छैन ।