पछिल्लो १९ महिनामा विदेश जानेको संख्या २३ लाख ६७ हजार

काठमाडौँ । पछिल्लो समय विदेश पलायन हुनेको संख्याको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ । रोजगारी, अध्ययन वा भिजिट भिसा, जसरी होस् विदेश जाने मनोविज्ञान बढिरहेको पाइएको छ ।
अध्यागमन विभागको तथ्याङ्क हेर्दा पछिल्लो १९ महिनामा विदेश जाने नेपालीहरुको कूल संख्या २३ लाख ६७ हजार ५७८ छ । विद्यार्थीहरु प्लस–टु सकेपछि जसरी पनि विदेश जाने भन्ने मनोविज्ञान पालेर हुर्किरहेको देखिन्छ । स्नातक तहको अध्ययन नेपालमै गरे पनि पुनः विद्यार्थी भिसामा विदेशकै यात्रा तय गर्ने धेरैको लक्ष्य रहेको देखिन्छ ।
यो अवधिमा सबैभन्दा धेरै रोजगारीका लागि विदेश गएको पाइन्छ । रोजगारीको लागि जानेको संख्या मात्रै १३ लाख १ सय २४ रहेको छ । तथ्याङ्कअनुसार अध्ययनका लागि विदेश जानेको सङ्ख्या १ लाख ५८ हजार ८ सय ५५ रहेको छ । यस्तै, भ्रमणका लागि विदेश जानेको सङ्ख्या २ लाख ९३ हजार ९ सय ४८ रहेको छ ।
विभागका अनुसार वैदेशिक रोजगारीको लागि नेपालीहरु धेरैजसो खाडी मुलुक जाने गरेको छन् भने अध्ययन प्रयोजनमा जानेहरू युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानडा जस्ता देशहरुमा जाने गरेका छन् ।