साउदीमा १७७ नेपालीलाई २९ करोडको जरिबाना
साउदी । नेपालमा भएको सम्झौताअनुसार काम र तलब नपाएको भन्दै साउदी अरबमा आफू काम गरिरहेको कम्पनी छोड्दै हुनुहुन्छ, भने होसियार । त्यसरी काम छोडे एकातिर तपाई ‘अवैधानिक कामदार’ बन्नुहुन्छ । अर्कोतिर सम्झौता भएको कम्पनीले तपाईंविरुद्ध मुद्दा दायर गर्न सक्छ । कमाउन आएको परदेशमा उल्टै जरिबाना तिर्न नसकेर बन्धक बन्नुहोला ।
तपाईंसँग साउदीको अनुमति ‘अकामा आईडी’ छ । तपाईंको नामबाट अरू कसैले सिमकार्ड निकाल्यो भने पनि जरिबानाको फन्दामा पर्नुहोला। यी र यस्ता विषयमा ध्यान नदिँदा १ सय ७७ जना नेपालीले ठूलो जरिबाना तिर्नुपर्ने भएको छ । उनीहरूलाई २९ करोड ५४ लाख ६० हजार रुपैयाँ (८६ लाख ९० हजार साउदी रियल) जरिबाना तोकिएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।
नेपाली कामदारको मुख्य आकर्षक मानिन्छ, साउदी । यहाँका नीति र नियमको पालना नगर्दा कमाउन आएका नेपाली कामदारहरू उल्टै जरिबाना तिर्नुपर्ने अवस्थामा पुगेका छन् । खाडी मुलुकमध्ये नेपालीका लागि दोस्रो ठूलो मुलुकमा पर्छ, साउदी ।
साउदीमा आउने नेपाली कामदारको संख्या र माग धेरै छ । तर, नेपालमा गरिने सम्झौता र साउदीमा पुगेपछि हुने सम्झौतामा सेवा र सुविधामा निकै भिन्नता हुने गर्छ । ‘फ्रि भिसा फ्रि टिकट’ भन्ने गरिए पनि साउदी आउने कामदारसँग म्यानपावर कम्पनीले १ लाख देखि २ लाखसम्म उठाउने गर्छन् ।
अर्कोतिर नेपालमा हुने सम्झौताअनुसार साउदीमा तलब र सेवासुविधा पाइँदैन । त्यसैकारण नेपाली कामदार आफू कार्यरत कम्पनीबाट भाग्ने गर्छन्। त्यसरी भागेपछि उनीहरू स्वतः अवैधानिक कामदार बन्छन् । अनि, सम्बन्धित कम्पनीले विभिन्न बहानामा भागेका कामदारविरुद्ध मुद्दा हाल्ने र लाखौं रियल जरिबाना तिर्न बाध्य बनाउने गरेका छन् ।
सम्झौताअनुसारको काम नपाउने र धेरै कमाउने लोभमा परेर आफू कार्यरत कम्पनी छाडेर भाग्दा सम्बन्धित कम्पनीले प्रत्येक व्यक्ति २ हजारदेखि ३ लाखसम्म जरिबाना तोकेर मुद्दा दायर गर्छन् । कतिपय मुद्दामा अदालतको फैसला प्रक्रियामा उपस्थित नहुँदा अदालतको फैसलाअनुसार जरिबाना बढ्दै जान्छ । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।