‘युवाहरुको सक्रियताबाट सामाजिक विकास सम्भव छ’

तु खबर संवाददाता
२०८० भाद्र १७,आईतवार १९:०८

जेसीज, १८ देखि ४० वर्षसम्मका युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि स्थापित संस्था हो । यसले निरन्तर नेपाली समूदायको हितका लागि गतिविधिहरु संचालन गरिरहेको छ ।

समाजमा जेसीजको प्रभाव बढ्दै गएको बेला मकवानपुरगढी जेसीज (प्रस्तावित) ले आम जनमानसमा जेसीजप्रतिको सम्मान अझै बढाइदिएको छ । छोटो समयमा मकवानपुरगढी जेसीजले जनहितका कार्यमा उल्लेख्य योगदान पुर्याएको छ ।

आर्थिक अवस्था न्यून भएका जनताको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा यसले पहुँच बढाउन महत्वपूर्ण सहयोग पुर्याएको छ । समाजमा जनचेतना जगाउने, समाजमा आपसी सद्भाव कायम गर्नेलगायतका कार्य मात्रै नभई मकवानपुरगढी जेसीजले स्थानीय पर्यटन प्रवद्र्धन र खेल क्षेत्रको विकासमा समेत योगदान पुर्याएको छ ।

ग्रामिण क्षेत्रमा संगठित हुँदै गरेको मकवानपुरगढी जेसीजले छोटो समयमा नै राष्ट्रियस्तरको फुटसल प्रतियोगिता आयोजना गरी मकवानपुरको गरिमालाई उँचो बनाइदिएको छ । तु खबरले सोही प्रतियोगिताको संयोजक एवम् मकवानपुरगढी जेसीजका वरिष्ठ उपाध्यक्ष विजय पुडासैनीसँग हालै सम्पन्न भएको फुटसल प्रतियोगिता र अन्य भइरहेका गतिविधिबारे कुराकानी गरेको छ । प्रस्तुत छ, पुडासैनीसँगको कुराकानीको सम्पादित अंश ।

तपाई कार्यक्रम संयोजक रहेको मकवानपुरगढी जेसीज कप फुटसल प्रतियोगिता हालै सम्पन्न भएको छ । समग्रमा कार्यक्रम अपेक्षा गरेको जस्तै भयो ?

धन्यवाद, समग्रमा भन्नुपर्दा मकवानपुरगढी जेसीसको आयोजनामा भएको ‘मकवानपुरगढी जेसीज कप फुटसल प्रतियोगिता’,  निकै राम्रो भयो भन्ने महसुस गरेको छु । प्रतियोगिताको सम्पूर्ण संयोजनको जिम्मा मलाई दिइएको थियो ।  दिइएको जिम्मेवारी पूरा गर्न पाएकोमा खुसी पनि लागेको छ ।

हामीले ३० वटा समूह सहभागी हुन्छ भन्ने अपेक्षा गरेका थियौँ । १५ र १६ गते प्रतियोगिता थियो । १४ गते जनैपूर्णिमा पर्व पनि भएकाले टाढा टाढाका समूहहरु सहभागी हुन पाएनन् । प्रतियोगितामा १८ वटा समूहले मात्रै सहभागिता जनाए । वर्षाको समय भएकाले पनि सहभागि समूहको संख्या घटेको हामीले अनुभूति गरेका छौँ । तर, प्रतियोगिता शान्तिपूर्ण वातावरणमा सम्पन्न भयो । एउटा सफलता हासिल भयो । यो प्रतियोगिताले खेलकुद क्षेत्रको विकाससँगै स्थानीय पर्यटन प्रवद्र्धनमा टेवा पनि पुर्याएको मैले महसुस गरेको छु ।

ग्रामिण क्षेत्रमा भर्खरै संगठन विस्तार गर्दै गरेको संस्थाले यति ठूलो कार्यक्रम सम्पन्न गर्न चुनौती पक्कै थियो । कसरी सम्भव भयो ?, अन्य विभिन्न क्षेत्रबाट सहयोग/समन्वय चाँही भयो कि भएन ?

राम्रो प्रश्न गर्नुभयो । चुनौती पक्कै थियो । तर, हामीले मकवानपुरगढीको समग्र पर्यटन प्रवद्र्धनसँगै खेल क्षेत्रको विकासका लागि एउटा प्रतियोगिता आयोजना गर्ने र त्यसलाई जसरी पनि सम्पन्न गर्ने भन्ने अडानका साथ अघि बढेका थियौँ । हाम्रो अभियानलाई विभिन्न व्यक्तिहरु, संघ–संस्थाहरुले पनि सहयोग गर्नुभएको छ ।

विशेषगरी हामीलाई मकवानपुरगढी गाउँपालिकाले सहयोग गरेको छ । मकवानपुरगढी जेसीजको स्थापनाकालदेखि नै यस प्रतियोगिताको लागि गढी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र ८ वटै वडाध्यक्षज्यूहरुले सक्दो सहयोग गर्नुभएको छ । उहाँहरुको सहयोगले नै हामी हामी सफल भएका हौँ ।

त्यस्तै हामीलाई खेलाडी भाइहरुले पनि शान्तिपूर्ण वातावरणमा, मैत्रीपूर्ण हिसावले प्रतियोगितामा जित हार जे भएपनि सम्बन्धलाई निरन्तरता दिने हो भन्ने हिसाबले खेलिदिनुभयो । स्वयम् सेवक साथीहरु, दर्शकहरु, संचारकर्मीज्यूहरु सबैको साथ सहयोगका लागि हामी आभार प्रकट गर्दछौँ । यो सफलताले सबै जुटे कुनै पनि कार्य असम्भव छैन भन्ने सन्देश पनि प्रवाह गरेको छ ।

प्रतियोगिता आयोजना गर्ने भन्ने वित्तिकै खर्च व्यवस्थापनको कुरा आउँछ । खर्च व्यवस्थापन कसरी भयो ?

हामीलाई धेरै सहयोगी मनहरुले सहयोग गर्ने बाचा गर्नुभएको छ । संघ संस्थाहरु र संस्थाका सदस्यहरुले पनि व्यक्तिगत रुपमा थोरै भएपनि सहयोग गर्नुभएको छ । त्यसमा खासै समस्या भएन ।

यो प्रतियोगिताले के सन्देश प्रवाह गर्यो भन्ने लाग्छ ?, तपाईहरुको बुझाइ कस्तो रह्यो ?

मकवानपुरगढीकोे ऐतिहासिक, पुरातात्विक मात्रै नभई आफ्नै खालको बेग्लै पहिचान छ । झन पृथ्वीनारायण शाहको सुसराली भनेर चिनिने यस ठाउँबारे धेरैलाई थाहा भएर पनि सबै आइपुग्न सक्नुभएको छैन । यस प्रतियोगितामा सहभागी हुनु झापा, बिर्तामोड, मोरङ, इलाम र गैंढाकोट र सौराहदेखिका खेलाडिहरु आउनुभएको थियो । पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुगेको छ ।

स्थानीय होटल र लजहरुमा नै खेलाडीलाई खाजा, खानादेखि सुत्ने व्यवस्था मिलाएका थियौं । यसले स्थानीय अर्थतन्त्रको विकासमा समेत टेवा पुर्याएको छ । जेसीज युवाहरुको नेतृत्व र व्यक्तित्व विकासको लागि साझा संस्था हो । यो खेलले युवाहरुबीच आत्मीयता र भाइचाराको सम्बन्ध बढाउन पुलको काम गरेको छ । निकै सकारात्मक सन्देश प्रवाह भएको हामीले पाएका छौँ ।

छोटो समयमा यति ठूलो प्रतियोगिता सम्पन्न गरिसक्नुभएको छ । आयोजनाको क्रममा के कस्ता चुनौतीको सामना गर्नुपर्यो ?

चुनौती धेरै भए । केही कमिकमजोरी पनि पक्कै भए होलान् । तर, त्यसलाई सबैले स्वच्छ मनले हेरिदिनुपर्यो । किनभने यसमा राजनीति छैन । जेसीज १८ वर्षदेखि ४० वर्ष नकटेका युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गराउनको लागि टेवा पुर्याउने संस्था हो । हामी गाउँ, टोल र समाजमा कसरी समाजसेवा गर्न सकिन्छ ?, युवाहरुलाई कसरी अगाडि बढाउन सकिन्छ ?, भनेर लागिरहेका छौँ । हाम्रो उद्देश्य सकारात्मक छ, त्यसकारण सबैको सहयोग भयो । केही चुनौती भए । तर, समस्या भएन ।

मकवानपुरगढी जेसीजले अहिले के कस्ता गतिविधि गरिरहेको छ ?

मकवानपुरगढी जेसीजले स्वास्थ्य सम्बन्धी कार्यक्रम निरन्तर गर्दै आएको छ । खेलकुद सम्बन्धी कार्यक्रम भर्खरै एउटा प्रतियोगिता सम्पन्न भयो । विगतमा पनि भएका छन् । र भविष्यमा लागूऔषध दुव्र्यशनीविरुद्धको कार्यक्रम, स्वास्थ्य शिविरहरु संचालन गर्ने तयारी गरिरहेका छौँ । अपेक्षाकृत काम त अझै गर्न बाँकी नै छ । तर, प्रस्तावित जेसीज भइरहँदा पनि हामीले धेरै राम्रा कामको सुरुवात गरेका छौँ ।

जेसीजले अब गढीमा जेसीस स्कुल निर्माण गर्ने योजना बनाएको छ । गाउँपालिकाका अध्यक्ष, बोर्डका सदस्यहरुसँग सल्लाह भइरहेको छ । जो गरिब विद्यार्थीहरु छन्, पठनपाठन गर्न असहज हुन्छ, कापिकलम किन्न पनि गाह्रो छ, त्यस्ता विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गर्ने, उनीहरुको संरक्षण गर्नको लागि प्रयास गर्ने हाम्रो तयारी छ ।

तपाइहरुको आगामी योजनाहरु के–के छन् ?

अहिले हामीसँग सदस्य संख्या कम छ । अब १५–२० जना युवाहरु सबै वडालाई समेटिने गरी थप्दै छौं । उनीहरुलाई जेसीजको सदस्य बनाएपछि गढीका प्रत्येक वडामा स्वास्थ्य शिविर सञ्चालन गर्छौँ । महिलाको पाठेघरसम्बन्धी शिविर चलाउँछौँ । युवाहरुलाई लागूऔषध दूव्र्यशनीबाट कसरी बचाउने र यसका असरहरुबारे जनचेतनामुलक शिविर सञ्चालन गर्ने हाम्रो तयारी छ । विभिन्न खेल क्षेत्रका गतिविधिलाई पनि निरन्तरता दिने हामी सोच बनाइरहेका छौँ ।

सामान्य बुझाइमा जेसीजलाई खर्च गर्न सक्नेहरुको संस्था भनेर पनि बुझिन्छ । आर्थिक अवस्था न्यून भएकाहरु चाँही जेसीजका सदस्य हुन सक्दैनन् ?

जेसीज पूँजीपति भन्दा पनि मनकारीहरुको संस्था हो । ठाउँ–ठाउँमा समस्यामा परेकाहरुलाई हामी सके सदस्यहरुसँग दुई हजार, पाँच हजार रुपैयाँ उठाएर सहयोग गर्छौँ । नसके अरु संघ संस्था संग सहयोग लिएर भएपनि समस्यामा परेकाहरुको समस्या सुल्झाउन मद्धत गर्छौँ ।

थोपा–थोपा मिलेर समुन्द्र बन्छ भनेजस्तै ५० जना सदस्यसँग एक–एक हजार संकलन गर्दा पनि १० जना विद्यार्थीलाई पढाउन सक्ने रकम जुट्छ । आर्थिक अवस्था दयनीय भएकाहरुलाई थोरै भएपनि टेवा पुग्ने काम गर्न सकिएला भनेर विभिन्न समाजसेवी, संस्थाहरुलाई साथमा लिएर अगाडि हिडिरहेका छौँ । त्यसकारण खर्च गर्न सक्नेहरु मात्रै यसको सदस्य हुन पाउने भन्ने हुँदैन । यो सबैको साझा संस्था हो । हामीसँगै हातेमालो गर्न सबैलाई आह्वान गर्न चाहान्छु ।

अब अन्त्यमा के भन्न चाहानुहुन्छ ?

हामीले जे लक्ष्य लिएर प्रतियोगिता संचालन गरेका थियौँ । हामी त्यसको जनिक पुग्यौँ । सहयोगी हातहरु सबैलाई धन्यवाद दिन चाहान्छु ।

गाउँपालिका, संचारकर्मीज्यूहरु, खेलाडी साथीहरु, स्वयम्सेवकज्यूहरु, भानु मावि, स्थानीय होटल व्यवसायीहरु र स्थानीय सबैलाई हामी धन्यवाद दिन चाहान्छौँ । यतिकैमा हाम्रो पाइला रोकिँदैन । आगामी दिनमा यस्ता कार्यक्रमहरुले अझै निरन्तरता पाउनेछन् । हामी समाजसेवाको महान अभियानमा छौँ । हातेमालो गरेर अघि बढ्न म सबैलाई हृदयबाट नै अनुरोध गर्न चाहान्छु । युवाहरुको सक्रियताबाटै सामाजिक विकास सम्भव छ ।