कांग्रेस मकवानपुरका सभापति लामाद्वारा दोषिमाथि कारबाहीको माग

तु खबर संवाददाता
२०८० भाद्र २१,बिहीबार १९:५४

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले कांग्रेस केन्द्रीय सहमहामन्त्री तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको घटनालाई लिएर दोषिमाथि कारबाहीको माग गरेको छ ।

कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले सो घटनाका दोषि र आक्रमण गर्नको लागि प्रत्येक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नेको पहिचान गरी तत्काल कारबाहीको दायरामा ल्याउन सरकारसमक्ष आग्रह गरेका छन् ।

लामाले भने, ‘निकै अप्रिय घटना घटेको छ । यस्तो अपराधिक कार्य गर्न दोषिलाई प्रत्येक्ष वा अप्रत्येक्ष सहयोग गर्ने जो कोही भएपनि पहिचान गरी कडा कारबाही गर्न सरकारसमक्ष जोडदार माग गर्दछु । साथै नेता महेन्द्र यादवको पूर्ण स्वास्थ्य लाभको समेत कामना गर्दछु ।’

यादवमाथि बुधबार काठमाडौँको भृकुटीमण्डपमा सांघातिक हमला भएको थियो । नुवाकोटाको विदुर नगरपालिका घर भएका श्याम बहादुर सापकोटाले यादवमाथि धारिलो हतियारले आक्रमण गरेका थिए । घाइते यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।