बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, १३ जना सख्त घाइते

तु खबर संवाददाता
२०८० भाद्र २३,शनिबार ०८:४७

बुटवल । बाँकेको शमशेरगन्जस्थित जंगलमा गएराति रोकिराखेको ट्रकसँग बस ठोक्किएर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

बिग्रिएर मर्मतका लागि रोकिराखेको ना ८ ख ६४०५ ट्रकसँग ना ७ ख २३२१ नम्बरको बस ठोक्किएर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

मृत्यु हुनेहरुमा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ५० वर्षीय काशीराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, करिब ४० वर्षीया जयन्ती थारु, वडा नं ७ का ६५ वर्षीय चानुराम थारु, वडा नं ८ का ४५ वर्षीय जुगबहादुर चन्द र नामथर वतन नखुलेका गाडीस्टाफ ३५ वर्षीय पुरुष रहेका छन् ।

बर्दियाको बेतनी सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरू बस रिजर्भ गरेर दाङको थारु सङ्ग्रहालय भ्रमण गरी फर्किने क्रममा दुर्घटनामा भएको थियो ।

उक्त दुर्घटनामा परेर अन्य १३ जना सख्त घाइते भएका छन् । उनीहरुको नेपालगन्ज उपचार भइरहेको छ ।