बालबोध माविः प्रधानाध्यापक सिफारिसमा गम्भीर त्रुटि, समिति भित्रै विवाद

तु खबर संवाददाता
२०८० भाद्र २५,सोमबार १६:४०

मकवानपुर । हेटौंडा–१७ हटियास्थित श्री बालबोध माध्यमिक विद्यालयको प्रधानाध्यापक नियुक्ती प्रक्रियामै गम्भीर त्रुटि देखिएको छ ।

विद्यालयले प्रधानाध्यापक नियुक्तीका लागि शिक्षा नियमावली विपरित सिफारिस प्रक्रिया अघि बढाएपछी त्रुटि सहतमा आएको हो ।

विद्यालयले निमावी स्थायी तृतीय श्रेणीका शिक्षक दीपकलाल श्रेष्ठलाई आवश्यक प्रक्रिया नै पूरा नगरी प्रधानाध्यापक नियुक्तीका लागि सम्बन्धित निकायसमक्ष सिफारिस गरेको छ । जुन शिक्षा नियमावली विपरित भएको विद्यालयकै शिक्षकहरु बताउँछन् ।

आइतबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले संशोधित शिक्षा नियमावलीमा उल्लेख भएअनुसारको प्रक्रिया नै पूरा नगरी शिक्षक श्रेष्ठको नाम प्रधानाध्यापक पदमा सिफारिस गरेको हो । जुन सरासर गलत भएको भन्दै समितिकै सदस्यहरुले लिखित असहमति जनाएका छन् ।

सामुदायिक विद्यालयमा प्रधानाध्यापक वा करारमा शिक्षक नियुक्तीका लागि सिफारिस गर्न, सामुदायिक शिक्षक, अन्य शिक्षक नियुक्ती र त्यसैगरी नियुक्त भएका शिक्षकको बढुवाका लागि सिफारिस गर्न विद्यालयले समिति गठन गर्नुपर्ने शिक्षा नियमावलीमा उल्लेख छ । तर, विद्यालयले प्रधानाध्यापक नियुक्तीका लागि छनौट समिति नै नबनाई सिफारिस प्रक्रिया अघि बढाएको हो ।

छनौट समितिले प्रधानाध्यापक छनौटका आधार पूरा गरेपछि मात्रै विद्यालयले प्रधानाध्यापक नियुक्तीका लागि सम्बन्धित निकायमा सिफारिस गर्न सक्ने हेटौंडा उपमहानगरपालिकाका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमाल बताउँछन् । उनले भने, ‘विद्यालयलाई प्रधानाध्यापक त चाहियो नी ?, अब प्रक्रिया नै पूरा नगरी आएको फाइल रहेछ भने त कानून विपरित त गर्न पाइँदैन । मेरो शाखामा सिफारिससहितको फाइल आएको छ । हामीले समन्वय इकाइमा पठाउने हो, अहिलेसम्म पठाएका छैनौँ । बुझेर अध्ययन गरेर मात्रै गर्छौँ ।’

प्रधानाध्यापकको नियुक्तीका लागि अरु पनि योग्य उम्मेदवार हुँदाहुँदै राजनीतिक दबाबमा श्रेष्ठलाई सिफारिस गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्णदेव भण्डारीले आरोप लगाए । उनले भने, ‘विद्यालयमा गोपाल भूजेल द्धितीय श्रेणीकै शिक्षक हुनुहुन्छ । योग्य अरु शिक्षक पनि हुनुहुन्छ । तर, अध्यक्ष प्रदिप अर्यालले राजनीतिक आधारमा दीपकलाल श्रेष्ठको नाम सिफारिस गर्नुभयो । मैले त लिखित अहसमति नै जनाएँ, अरु साथीहरुले पनि विरोध गर्नुभएको छ ।’

विद्यालयका तत्कालिन प्रधानाध्यापक रमेश रिजालले स्वास्थ्यको कारण देखाउँदै गत भदौ ३ गते पदबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएसँगै भदौ ४ गते विद्यालयले शिक्षक श्रेष्ठलाई नि. प्रधानाध्यापकको जिम्मेवारी दिएको थियो ।

द्धितीय श्रेणीका शिक्षकलाई अवसर नदिई तृतीय श्रेणीका श्रेष्ठलाई जिम्मेवारी दिइएको हो । आफुलाई प्रधानाध्यापक नियुक्त गर्न नि. प्रधानाध्यापकको हैसियतमा उनैले सिफारिस पत्रमा हस्ताक्षरसमेत गरेका छन् ।

७ लाख ६० हजार हिनामिना

तत्कालिन समयमा श्रेष्ठ बालबोध माध्यमिक विद्यालयको शिक्षकसँगै स्थानीय हटिया बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापकको जिम्मेवारीमा पनि थिए । उनले सहकारीको लाखौँ रकम हिनामिना गरेको भन्दै लेखा समितिले श्रेष्ठले सो रकम असुलउपर गर्नुपर्ने निर्देशन दिएपछि उनले गल्ती स्वीकार गरी रकम सहकारीलाई फिर्ता गरेका थिए ।

लेखा समितिले तत्कालिन व्यवस्थापक श्रेष्ठबाट ७ लाख ६० हजार ९१३ रुपैयाँ हिनामिना गरेको निष्कर्षसहित उनीसँग सो रकम असुल उपर गर्न निर्देशन दिएको थियो ।

लेखा समितिले श्रेष्ठबाट नगद ३ लाख ६३ हजार ३४७ रुपैयाँ र आर्थिक वर्ष २०७१/०७२ को लेखा परीक्षणमा फरक पर्न आएको ४ लाख ४५५ रुपैयाँ २०७३ जेठ १५ भित्र असुल उपर गर्नु भनी निर्देशन दिएको सहकारीका अध्यक्ष रमेशकुमार राना बताउँछन् ।

‘मेरो नै नेतृत्वमा रकम असुल उपर भएको हो । अहिले पनि सहकारीको अध्यक्ष म आफैँ छु । उहाँले दुई पटकमा रकम सहकारीलाई फिर्ता गर्नुभएको थियो ।’ अध्यक्ष रानाले तु खबरसँग भने ।