सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझायो
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युुरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरण सम्बन्धी अनुसन्धान प्रतिवेदन बुझाइएको छ । सीआइबीले उक्त प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको हो ।
सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा सीआईबीले रेडी ट्रेडमार्फत तस्करी भएको सुनमा ५० जनालाई प्रतिवादी बनाएको छ र ३६० किलो ७७८ ग्राम सुन तस्करी भएको निष्कर्षका साथ ३ अर्ब ५० करोड, २ लाख १६ हजार ५५२ रुपैयाँ विगो कायम गरेको छ ।
आरोपीविरुद्ध संगठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउन राय दिइएको सीआईबीले जनाएको छ ।
सङ्गठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ । यही ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्याइसक्नुपर्ने हुन्छ । त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययनको समय पाउने गरी आज प्रतिवेदन बुझाएको हो ।