चिकित्सक कुटपिट प्रकरण : पक्राउ परेकामाथि अनुन्धान गर्न तीन दिनको म्याद थप
मकवानपुर । हेटौंडामा चिकित्सक कुटपिट प्रकरणमा पक्राउ परेका चार जनामाथि तीन दिनको म्याद थप गरिएको छ । उक्त प्रकरणमा बिहीबार पक्राउ परेका चार जनामाथि अनुसन्धान गर्न तीन दिनको म्याद थप गरिएको हो ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले म्याद थप गर्न शुक्रबार जिल्ला अदालत मकवानपुरमा उपस्थित गराएको थियो । सो क्रममा अदातलले तीन दिन हिराशतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको मुद्दा शाखाका प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए ।
डेंगू संक्रमणको कारण एक महिना अघि मृत्यु भएका हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहितको केहि युवाको समूहले बुधबार हेटौंडा–१ स्थित सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट गरेका थिए ।
सोही घटनामा संलग्न रहेको भन्दै प्रहरीले राजेशका श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिज अमित प्रधानलाई बिहीबार हेटौंडाको विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका चारै जनामाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन २०६६ को पहिलो संशोधन २०७९ अन्तरगत मुद्दा दर्ता गरी कानूनी प्रकृया अगाडि बढाइएको मुद्दा शाखाका प्रहरी निरीक्षक शाहले बताए ।
उक्त घटनामा संलग्न अन्य व्यक्तिको भने खोजतलासी भइरहेको प्रहरीले जनाएको छ ।