काठमाडौंको गैह्रीगाउँमा चार जनाको हत्या, एक जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–३२, तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको धारिलो हतियार प्रहर गरी हत्या भएको छ ।
तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा दुई पुरुष र दुई महिलाको हत्या भएको अवस्थामा शव फेला परेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार, हत्या भएका चार जनामध्ये तीन जना एकै परिवारका रहेका छन् । हत्या भएकामा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती वर्ष अन्दाजी ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की सुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नवीन राई रहेका छन् ।
उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको छ ।
उक्त दिव्य सःमिल दोलखा, कालीञ्चोक गाउँपालिका ८ घर भई गौशाला बस्ने, बालकृष्ण शिवाकोटीले सञ्चालन गरेको बुझिन आएको छ । हाल मुचुल्कालगायतको कार्य सम्पन्न गरी शव परीक्षणको लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको जनाइएको छ ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले सोही घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरी घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।